काठमाडौं । दुई वर्षअघि संयुक्त अरब इमिरेट्सबाट आएको विद्युतीय चुरोट अर्थात् भेपमा राखेर सुन तस्करी भएको तथ्य खुलेको थियो । अन्तर्राष्ट्रिय विमास्थलकै रुट प्रयोग गरेर भेप आउने गरेको तथ्य खुलेपछि काठमाडौंमा यसको प्रयोगकर्ता कति छन् भन्ने चासो त जाग्यो नै, सुन तस्करीको नयाँ तरिकाको भेद पनि खुल्यो । यसैबाट खुल्यो, नेपालमा भेप तस्करीको संगठित सञ्जाल नै रहेको रहस्य पनि । राजस्व अनुसन्धान विभागले अहिले पनि आफ्नो गोदाममा एक लाखभन्दा बढी भेप नियन्त्रणमा लिएर त्यसमाथि अनुसन्धान जारी राखेको छ ।
काठमाडौं लगायतका ठूला सहरमा युवाहरुले केही वर्षयता अधिक प्रयोग गर्ने गरेको भेप अर्थात् विद्युतीय चुरोटले अहिले राजस्व अनुसन्धान विभागलाई रनभुल्ल बनाइरहेको छ ।
गत माघमा ललितपुरको एउटै गोदामबाट बरामद गरेको ८६ हजार थान भेप विभागले अहिले आफ्नो गोदाममा राखेको छ । तर, एउटै गोदाममा पाइएको भेप केका लागि अवैध रुपमा नेपाल ल्याइयो भन्ने विषयले विभागलाई तनाव दिएको हो ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार चीनबाट आएका यी भेप काठमाडौंमै खपतका लागि मात्रै राखिएको थिएन । गोदामका सञ्चालकलाई २० करोड रुपैयाँ धरौटी राख्न लगाएर विभागले अहिले पनि अनुसन्धान गरिरहेको छ ।
२० करोड रुपैयाँ धरौटी राख्न सक्नेले नेपालबाट भारततर्फ तस्करी गरिरहेको हुनसक्ने विभागको आशंका छ ।
चीनबाट भेप ल्याउने रुटका रुपमा मुस्ताङ पनि प्रयोग भइरहेको खुलेको छ । भोटे चिया र टिस्यु पेपर भनेर करिब एक महिनाअघि चीनबाट मुस्ताङ नाकाको रुटबाट आएको गाडीमा १९ हजार थान भेप नै बरामद भएको थियो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भेप तस्करीका चारवटा घटनामा अनुसन्धान चलिरहेको र बरामद भएका विभिन्न मूल्य पर्ने १ लाख १७ हजारभन्दा बढी भेप विभागको नियन्त्रणमा रहेको जनाउनु भयो । यो भेप लिलामसमेत गर्न सकिँदैन ।
विद्युतीय चुरोट भनिए पनि नेपालमा स्वास्थ्य मन्त्रालयले यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ । आयातमा समेत कडाइ गरिएको छ, भन्सार कार्यालयहरुले जाँच पास गरेका छैनन् ।
तर, यही बेला चीनबाट ल्याइएका भेप भारततर्फ तस्करी गर्ने गिरोह नै सक्रिय देखिएका हुन् । स्वास्थ्यमा गम्भीर असर गर्ने भेप नेपाली युवाहरुले अत्याधिक प्रयोग गरिरहेको देखिएकाले निषेध गर्ने भए कानुन बनाएरै, नियन्त्रण गर्नुपर्ने, नभए यसको तस्करी र स्वास्थ्यमा पार्ने असर स्वभाविक नहुने विभागका महानिर्देशक घिमिरे बताउनुहुन्छ ।
नेपालमा भेपका प्रयोगकर्ता कति छन् भन्ने कुनै तथ्यांक छैन । यसको खपत कति भइरहेको छ भन्ने जानकारी पनि कसैसँग छैन न त बजारमा उपलब्ध भेपको गुणस्तरबारे आधिकारिक जानकारी नै छ । तर, दुई वर्षअघि भेपमा राखेर ठूलो मात्रामा सुनको तस्करी भएकाले अनेक प्रश्न उठेका छन् । यसले भेप ल्याउनेहरुमाथि मात्रै होइन, भेपको अवैध बजारसम्मको बाटोबारे पनि विस्तृत अनुसन्धान आवश्यक रहेको देखाँछ ।