गोलबजारको बर्धमान अस्पतालको लापरबाहीले एक सुत्केरीको मृत्यु, सञ्चालक नियन्त्रणमा

वैशाख २७, २०८२ |विनय आजाद
गोलबजारको बर्धमान अस्पतालको लापरबाहीले एक सुत्केरीको मृत्यु, सञ्चालक नियन्त्रणमा

सिरहा । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालको लापरबाहीले एक सुत्केरीको अकालमै ज्यान गएको छ । मिर्चैया नगरपालिका-११ सीतापुरकी अन्दाजी ३० वर्षीया रामकाशी यादवको शनिबार बिहान ज्यान गएको हो ।

रामकाशीलाई शुक्रबार बिहान व्यथा लागेपछि परिवारजनले बर्धमान अस्पताल लगेका थिए । अस्पतालमा दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालिएको थियो । यसअघि दुई छोरीकी आमा रहेकी उनी छोराको जन्म दिएकी थिइन् ।

तर, शल्यक्रिया गरेर बच्चा निकालेपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारजनले रामकाशीलाई बाहिर लान खोजेका थिए । रिफर गरिदिन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भनेर अल्झाएर राखेको अस्पतालले शनिबार बिहान २ बजेतिर मात्र यहाँबाट रिफर गरेको थियो ।

तर, गोलबजारबाट बिराटनगर लाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । शनिबार बिहान साढे ५ बजेको समयमा बिराटनगरस्थित न्यूरो अस्पतालले उनलाई मृत घोषणा गरेको मृतकका श्रीमान् सन्त यादवले बताउनुभयाे ।

'हामी बिहान २ बजे यहाँबाट हिँडेका थियौं, विहान ५ बजे बिराटनगर पुगेका थियो,' सन्तले कान्तिपुरसित भन्नुभयाे, 'तर, त्यहाँका चिकित्सकले अस्पताल पुग्नुभन्दा अघि नै बिरामीको ज्यान गइसकेको बतायो ।'

बर्धमान अस्पतालले आफ्नी श्रीमतीलाई अन्तिम अवस्थामा पुर्‍याएर रिफर गरेको र यो घटनाको जिम्मा अस्पतालले नै लिनुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार, शल्यक्रियाका क्रममा चिकित्सकको लापरबाहीका कारण रामकाशीको शरीरबाट धेरै रगत बगेको थियो । बच्चाको अवस्था भने सामान्य रहेको उहाँले बताउनुभयाे ।

अस्पतालकै लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै परिवारजन अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका छन । पीडित परिवारको प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका शल्यक्रिया गर्ने डा. तेजशंकर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सञ्चालक यादवलाई कार्यालयमा ल्याएर सोधपुछ गर्ने काम र घटनाको अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहले जानकारी दिनुभयाे । यस विषयमा अस्पताल सञ्चालक यादवको प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहेनन् ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।