काठमाडौं । दीपेन्द्रसिंह ऐरी साढे ३ वर्षपछि राष्ट्रिय क्रिकेट टिमको उपकप्तानको जिम्मेवारीमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा टिमको घोषणा गर्दा ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको हो ।
क्यानले २०७८ मंसिर २९ गते तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेपछि सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।
सन्दीप यौन दुर्व्यवहारको मुद्दामा परेपछि क्यानले २०७९ कात्तिक २५ गते उनलाई निलम्बित गर्दै रोहित पौडेललाई कप्तान नियुक्त गरेको थियो । ज्ञानेन्द्र र दीपेन्द्र कारवाहीमा परेयता क्यानले उपकप्तान नियुक्त गरेको थिएन । तर, अहिले साढे ३ वर्षपछि नेपाली टिमले उपकप्तानका रुपमा ऐरीलाई नै पाएको छ ।