काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्यान्ड भ्रमणका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा रहेको टिममा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
क्यानले जुनमा स्कटल्यान्डमा आयोजना हुने लिग २ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्य अन्तिम टोली घोषणा गर्दा दिपेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिएको हो ।
क्यानले २०७८ मंसिर २९ गते तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेपछि सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको थियो ।
सन्दीप यौन दुर्व्यवहारको मुद्दामा परेपछि क्यानले २०७९ कात्तिक २५ गते उनलाई निलम्बित गर्दै रोहित पौडेललाई कप्तान नियुक्त गरेको थियो । ज्ञानेन्द्र र दीपेन्द्र कारवाहीमा परेयता क्यानले उपकप्तान नियुक्त गरेको थिएन । तर, अहिले साढे ३ बर्षपछि नेपाली टिमले उपकप्तान पाएको छ ।
स्कटल्यान्ड जाने टिममा नन्दन यादव र रिजन ढकाललाई पनि समेटिएको छ । नेपाली स्वाडमा आशिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् ।