धादिङ । सामान्यतया विद्यालय गएका विद्यार्थीको क्रियाकलाप पठाइ-लेखाइमै कन्द्रीत हुन्छ भन्ने सबैलाई थाहा छ । धादिङको ज्वालामुखी गाउँपालिकास्थित बालादेवी माविका विद्यार्थीको दैनिकी भने केही फरक छ । उनीहरू लेखपढ मात्रै गर्दैनन् विद्यालयको आम्दानीका लागि काम पनि गर्दछन् ।
दुई वर्षअघिदेखि पढ्दै कमाउँदै कार्यक्रम सुरू गरेको धादिङको ज्वालामुखीमा रहेको बालादेवी माविका विद्यार्थीलाई अहिले तर्बुजा टिप्ने र बजार पठाउने चटारो छ । झण्डै १० रोपनीमा लगाइएको तर्बुजा बजार पठाउने समय भएपछि विद्यार्थीलाई अहिले भ्याइनभ्याइ भएको हो ।
पढेर बचेको समयमा विद्यालय परिसरमा शिक्षक-विद्यार्थीले मिलेर गरेको खेतीले विद्यार्थीलाई खुशी थपेको छ । फूल खेती गरेर पढ्दै कमाउँदै कार्यक्रम सुरू गरेको विद्यालयले त्यसलाई निरन्तरता दिँदै यो सिजनमा तर्बुजा लगाएको हो ।
यसपटक चार हजार किलो तर्बुजा बिक्री गर्ने अपेक्षा छ । यसले विद्यार्थीलाई किताबी ज्ञानसँगै उत्पादन र बजारीकरणको व्यवहारिक अनुभव प्रदान गरेको छ ।
विद्यार्थीको सहभागितामा भएको उत्पादनले सिकाई उपलब्धि त भएकै छ यसबाट हुने आम्दानीले शिक्षकलाई तलब खुवाउनुका साथै विद्यालयमा विभिन्न अतिरिक्त सहशिक्षण गतिविधिका लागि आवश्यक पर्ने सामग्री खरिदका लागि सहयोग पुग्नेगरेको छ ।
८ देखि १० कक्षासम्मका विद्यार्थीलाई दैनिक केही समय उपार्जनको काममा लगाउने गरिएको छ । पहिले सबै काम विद्यार्थीले गर्ने गरेको भएपनि अहिले खनजोत भने अरूबाटै गराइन्छ । पहिले फूल खेती गरिएकोमा यसपटक तर्बुजा राम्रो उत्पादन भएपछि विद्यालयले अब सिजनअनुसारको उत्पादन गर्ने योजना बनाएको छ ।
बालादेवी माविमा लागू भएको पढ्दै कमाउँदै कार्यक्रमको सफलता हेरेर ज्वालामुखीकै अन्नपूर्ण माविमा पनि यो कार्यक्रम सुरू भएको छ । स्थानीय सरकारले गाउँपालिकाभित्रका सबै माध्यमिक तहका विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान पनि दिनुपर्छ भन्ने कुरा बालादेवी माविमा गरिएको यो तर्बुजा खेतीले सिकाउँछ । जुन अरू विद्यालयका लागी पनि अनुकरणीय छ ।