ताप्लेजुङ । पूर्वीपहाडी जिल्लामा अलैँचीले एक दशकअघिकै मूल्य पाउन थालेको छ । अलैँची प्रतिमन अर्थात् ४० किलोको १ लाख रुपैयाँ नजिक पुगेको हो तर मूल्यमा स्थिरता नभएको र व्यापारीकै भरमा बिक्री गर्नुपर्ने बाध्यता रहेको गुनासो किसानले गरेका छन् ।
२०४२ सालदेखि व्यावसायिक खेती गर्न थालिएको अलैँचीको मूल्य २०७१/७२ मा प्रतिमन एक लाख ८ हजारसम्म पुगेको थियो । अहिले त्यसैको हाराहारीमा मूल्य पुगेको छ । झापाको मूल्यलाई आधार मानेर अहिले जिल्ला-जिल्लामा कारोबार भइरहेको छ । गत वर्षको तुलनामा यो वर्ष अलैँची ४० हजार रुपैयाँ बढीमा बिक्री भएको हो ।
अलैँचीलाई ठूलो दाना भएको र पुच्छर काटेकोलाई ए, पुच्छरमात्रै काटेकोलाई बी र सालाखालालाई सी ग्रेडमा राख्ने गरिएको छ । यस पटक गत वर्षकोभन्दा बढी मूल्य पाए पनि स्थिर मूल्य नहुँदा व्यापारीको भरमा बिक्री गर्नु पर्ने बाध्यता रहेको किसानको गुनासो छ ।
९८ प्रतिशत भारत निर्यात हुने अलैँची नेपालका ४२ जिल्लामा उत्पादन हुन्छ । ताप्लेजुङजस्ता पूर्वी पहाडी जिल्लाका अधिकांश वडामा यसको खेती हुने गरेको छ । नेपालबाट वार्षिक ७ हजार टन अलैँची उत्पादन हुने गरेको तथ्यांक कृषि मन्त्रालयको छ ।