नेपालगञ्जको आईसीपीमा चर्को शुल्क असुलेको उद्योगी-व्यावसायीको गुनासो

भाद्र २७, २०८१ |जे पाण्डे
नेपालगञ्जको आईसीपीमा चर्को शुल्क असुलेको उद्योगी-व्यावसायीको गुनासो

बाँके । नेपालगञ्जको एकीकृत भन्सार जाँचचौकी (आईसीपी)ले भारतबाट आउने र जाने मालवाहक गाडीको प्रवेश, तौल र पार्किङ गर्दा चर्को शुल्क असुली गर्दै आएको छ । जसको विरोध सबै उद्योगी तथा व्यावसायीले गरेका छन् । यससँगै उनीहरुले नेपालगञ्ज नाकाबाट मालवाहक गाडी भित्र्याउँदा आर्थिक भार बढ्ने भएकाले अन्य मार्ग प्रयोग गर्न थालेका छन् । आईसीपी व्यवस्थापनका लागि सरकारले ठेक्का दिएको एटलस लगपार्क प्रालिले चर्को शुल्क लगाउँदा विदेशबाट आयात गरिएको वस्तुको बजार भाउ वृद्धि भई त्यसको सिधा असर उपभोक्तामा पर्न थालेपछि उद्योग सञ्चालकहरुले नेपालगञ्ज नाकाको विकल्प खोज्न बाध्य भएको बताएका छन् ।

नेपालगञ्ज नाकाको पुरानो मार्गबाट मालवाहक वस्तु आयात गर्दा प्रवेश शुल्क र पार्किङ शुल्क लाग्दैनथियो । हाल यो आईसीपी हुँदै आउने एउटा मालवाहक गाडीबाट टीआरएस कम्पनीले प्रवेश शुल्कबापत २ सय ५९ देखि ३ सय १३ रुपैयाँ असुली गर्छ । पर्किङ शुल्क पहिलो दिन ५ सय १८ देखि ६ सय ९० रुपैयाँ र त्यसपछि प्रतिदिन दोब्बर बढाउँछ । त्यति मात्रै होइन एउटा गाडी तौल गर्दा २ सय ८५ रुपैयाँ असुल गर्छ । जबकि अन्य धर्मकाँटामा ५० देखि १ सय रुपैयाँभन्दा बढी लाग्दैन । बाँकेस्थित जय अम्बे स्टिल प्रालिका मेनेजर अनुज श्रेष्ठ यस्तो चर्को भाडाका कारण वस्तुको उत्पादन लागत बढेकाले त्यसको सिधा असर उपभोक्तालाई पर्ने बताउनु हुन्छ ।

टीआरएसले नेपाल विद्युत प्राधिकरणसँग ८ रुपैयाँ युनिटमा लिएको बिजुली भन्सार हाताभित्र कार्यालय सञ्चालन गर्नेहरुसँग प्रतियुनिट २२ रुपैयाँ लिने गरेको छ ।

उद्योग वाणिज्य संघ नेपालगञ्जका कोषाध्यक्ष मखन धामी भन्नुहुन्छ, 'यहाँ सबै शुल्क महँगो छ, जसले गर्दा वैकल्पिक मार्ग खोज्छ हामी बाध्य छौं ।'

नेपालगञ्ज नाकाबाट दैनिक १ सय २५ मालवाहक गाडी आउने गर्छन् । तर, विभिन्न प्राविधिक समस्या देखाएर उसै दिन वा दोस्रो दिन पनि भन्सार जाँचपास दिइँदैन । समय लम्ब्याउँदै जाँदा पार्किङ शुल्क धेरै असुली गर्न पाइने भएकाले जाँच प्रक्रियामा ढिलाइ गर्ने गरेको उद्योग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंकबहादुर धामीको आरोप छ ।

तत्कालीन प्रधानमन्त्री पुुष्पकलम दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले २०८० जेठ १८ गते संयुक्त रुपमा भर्चुअल उद्घाटन गरेको आईसीपी झन्डै एक वर्षपछि २०८१ वैशाख २४ गतेदेखि सञ्चालनमा आएको हो । आईसीपीबाट छटो छरितो जाँचपास हुनुका साथै शुल्कसमेत सुलभ होला भन्ने सोचेका व्यवसायी निराश भएका छन् । व्यापारीको गुनासो सुनेर आईसीपी निरीक्षणमा पुगेका पूर्वप्रधानमन्त्री दाहालले समेत उद्योगी-व्यवसायीले यो समस्या सहनैपर्ने बताएपछि मिलेमतोमै चर्को शुल्क असुली भइरहेको आशंका गर्ने ठाउँ देखिएको बताउनु भयो ।

तर, आईसीपी व्यवस्थापन तथा सञ्चालनको ठेकेदार कम्पनी टीआरएस लिमिटेड नेपालगञ्जका प्रमुख तर्कराज जोशी भने वाणिज्य मन्त्रालयले निर्धारण गरेअनुरुपको दररेटअनुसार नै शुल्क लिने गरेको दाबी गर्नुहुन्छ ।

आईसीपीमा आयाततर्फ २ सय र निर्याततर्फ ७५ वटा मालवाहक गाडी पार्किङ गर्न सकिन्छ । तर, व्यवसायीले वाणिज्य मन्त्रालयले तोकेको शुल्क व्यावहारिक नभएकाले परिमार्जनको माग गर्दै आएका छन् ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement