काठमाडौं । भदौमा सुस्ताएको घरजग्गा कारोबारमा मालपोत कार्यालयमा भएको आगजनीसँगै असोजमा झनै घटेको देखिएको छ । यसरी घरजग्गा कारोबारमा आएको कमीसँगै सरकारलाई प्राप्त हुने राजस्वमा समेत असर परेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले उपलब्ध गराएको तथ्यांकअनुसार असोज महिनामा २३ हजार ३ सय ५३ वटा मात्रै लिखत पारित भएका छन् । जबकी गत वर्षको सोही अवधिमा ३० हजार ५ सय लिखत पारित भएका थिए । गत भदौमा भने २७ हजार ४ सय घरजग्गाको लिखत पारित भएको थियो ।
कित्ताकाटमा भएको रोकतोकसँगै गत भदौमा भएको जेन-जी आन्दोलनमा मालपोत कार्यालयमा भएको तोडफोडले घरजगगा कारोबार कमी भएको व्यवसायी बताउँछन् । साथै निजी सम्पत्तिमाथि भएको तोडफोडका कारण पनि घर तथा जग्गामा लगानी गर्न डराइरहेको जग्गा तथा आवास विकास संघका अध्यक्ष बिदुर धमला बताउनुहुन्छ ।
घरजग्गा कारोबारमा आएको कमीसँगै राज्यलाई प्राप्त हुने राजस्व गत वर्षभन्दा कम उठेको छ । असोजमा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व प्राप्त भएको छ । जबकी गत वर्षको यही समयमा ३ अर्ब ८ करोड राजस्व संकलन भएको थियो ।