साउदी अरेबियाद्वारा आफ्नो श्रम कानुनमा व्यापक सुधार

कार्तिक ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
साउदी अरेबियाद्वारा आफ्नो श्रम कानुनमा व्यापक सुधार
Photo Source : Agency

काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्यमध्येको एक साउदी अरेबियाले आफ्नो श्रम कानुनमा व्यापक सुधार गरेको छ । 

यससँगै साउदी अरेवियाका काम गरिरहेका घरेलु महिला श्रमिक आधारभूत सेवाबाट बञ्चित हुनु नपर्ने भएको आप्रवासनका जानकारहरूले बताएका छन् । साउदी सरकारले ५० वर्षदेखि लागू रहेको कफाला प्रणाली यसै हप्ताबाट अन्त्य गरेको हो । 

अब साउदी अरेबियाका काम गरिरहेका श्रमिकले रोजगारदाताको अनुमतीविना पनि देश छोड्न पाउने छन् । त्यस्तै कानुनी सहायता खोज्ने वा काम परिवर्तन गर्ने अधिकार पनि श्रमिकमा निहीत हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

कानुन संशोधन नभएसम्म श्रमिकका मौलिक अधिकार हनन् गरेको भन्दै विश्वभर नै साउदी सरकारको आलोचना हुने गरेको थियो । साउदीमा कामदारमाथि दुर्व्यवहार, राहदानी जफत, तलब रोक्ने, तलब ढिलो दिने, स्वतन्त्रतामा रोक लगाउने जस्ता घटना हुने गरेका थिए ।

साउदी अरेबिया निर्माण, कृषि, घरेलु कामलगायतका क्षेत्रमा आप्रवासी कामदारमा बढी निर्भर छ। यस्तो काम गर्न नेपाल, बंगलादेश, भारत र फिलिपिन्सका नागरिक पुग्ने गरेका छन् । साउदीले कानुन संशोधन गरेपछि नेपाली श्रमिक पनि लाभान्वित हुने श्रम तथा रोजगार विज्ञ सोम लुइँटेलले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.