काठमाडौं । चालु वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलब १ प्रतिशतमा खुम्चिने प्रक्षेपण विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता संस्थाले गरेका छन् । अर्थतन्त्रलाई गति दिन थप लगानी गर्नुपर्ने बेला निजी क्षेत्रको मनोबल भने घटेको छ । १० खर्बभन्दा धेरै रकम बैंकिङ प्रणालीमा थन्किएको छ । बजारमा कर्जाको माग नै छैन । व्याजदर तल्लो विन्दुमा झरेको छ । यस्तो वेला अर्थतन्त्र सुधारका लागि के गर्नुपर्ला ?
अर्थशास्त्री तथा विज्ञहरुले जेन-जी आन्दोलनपछि थप थला परेको निजी क्षेत्रलाई उकास्न विशेष प्याकेज नै ल्याउनुपर्ने सुझाएका छन् । नेपालको निजी क्षेत्रको मनोबल नबढाउँदासम्म रोजगारी सिर्जना र व्यवसायिक वातावरण सिर्जना नहुने भन्दै उनीहरुले तत्काल राहतका प्याकेजसहित पुनर्स्थापनामा लाग्न जोड दिएका छन् । अब कुनै पनि प्रतिष्ठानमा आगजनी भएमा त्यसको क्षतिपूर्ति नेपाल सरकारले व्यहोर्ने सुनिश्चिता नहुँदासम्म लगानी आउन नसक्ने अर्थशास्त्रीहरुको भनाइ छ ।
नेपालको निजी जेन-जी आन्दोलन सकिएको महिना दिन बित्दासमेत व्यवसाय-प्रतिष्ठान जलाउनेमाथि कारवाही नभएको भन्दै निजी क्षेत्रले सुरक्षा सुनिश्चिता खोजिरहेको छ ।
व्यापार व्यवसायलाई सामान्य अवस्थामा ल्याउन आन्दोलनका क्रममा भएको क्षतिपूर्ति, सुरक्षा सुनिश्चितता र नीतिगत र संरचनागत सुधार भएमा मात्र थप लगानी हुनसक्ने छ । बैंकिङ प्रणालीमा रहेको १० खर्बको रकम परिचालनका लागि निजी क्षेत्रलाई थप लगानीका क्षेत्र खुलाउनुपर्ने छ । यसमा सरकारले संचालन गर्न नसकेका उद्योगदेखि सार्वजनिक पूर्वाधारमा लगानीको वातावरण बनाउन माग निजी क्षेत्रको माग छ ।
यता, अर्थशास्त्रीहरुले पनि नेपालमा उद्योगभन्दा व्यापार फस्टाएको भन्दै मौद्रिक नीति र वित्त नीतिबिच सामञ्जस्यता गराउन सुझाएका छन् । कुनै पनि उद्यमीलाई बैंकको सहज पहुँच बनाउन अहिले पनि सकिएको छैन ।
जेन-जी आन्दोलनका क्रममा भएको आक्रमणबाट निजी क्षेत्र त्रसित भएकाले पुँजी पलायन हुन नदिन नीतिगत तहमै सम्बोधन गर्ने तयारी भइरहेको सरकारी उच्च अधिकारीहरुको दावी छ ।
सरकारको आवधिक योजनाले विकासका लक्ष्य सफल पर्न उद्योग र व्यापारमा लगानी बढाउनु पर्ने आवश्यकता औंल्याएको छ । त्यतिमात्र होइन, अल्पविकसीत सूचीमा रहेको नेपाल अर्को वर्ष विकासशीलमा स्तरोन्नति हुँदैछ । त्यस्तै संयुक्त राष्ट्रसंघले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि पनि आर्थिक कृयाकलाप बढाउन थप लगानी र निजी क्षेत्रको मनोबल बढाउनुपर्ने छ ।