राजस्व छली गर्दै आएको विदेशी ब्रान्डको चुरोट मार्लबोरोले उपभोक्तालाई पनि ठग्दै, सरकारलाई पनि ठग्दै

भाद्र १७, २०८१ |विनय आजाद
राजस्व छली गर्दै आएको विदेशी ब्रान्डको चुरोट मार्लबोरोले उपभोक्तालाई पनि ठग्दै, सरकारलाई पनि ठग्दै

सिरहा । सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगभित्र राजश्व छलीको मार्लबोरो चुरोट भण्डारण गर्ने गरेको भेटिएको छ । कहिलेदेखि तस्करीको चुरोट राख्ने गरिएको हो भन्न नसके पनि गत साउन २१ गते उद्योग परिसरमा साढे दुई ट्रक चुरोट जलाइएपछि सबै मजदुरहरूले अवैध कारोबारबारे थाहा पाएको जानकारी दिएका छन् ।

शंकर ग्रुप अफ इन्डिस्ट्रिजअन्तर्गतको जगदम्बा ओभरसिजले आयात गर्ने विदेशी ब्रान्डको चुरोट मार्लबोरोले नेपालमा राजस्व छली गर्दै आएको खुलेको छ । मार्लबारोका दुई ब्रान्डका चुरोट फेला पारेका छन् जसमा एउटामा मार्लबोरो मात्रै लेखिएको छ भने अर्कोमा मार्लबोरो गोल्ड लेखिएको छ ।

इन्डोनेसियास्थित पीटी फिलीप मोरिस नामक कम्पनीमा उत्पादित आन्तरिक राजस्व विभागको स्टिकर टाँस गरिएका दुवै खाले चुरोटका बट्टामा वास्तविक मूल्य लेखिएको ठाउँमा बढी रकम उल्लेख गरिएको अर्को स्टिकर टाँस गरी बिक्री गरिँदै आएको भेटिएको हो । मार्लबोरो मात्रै लेखिएको बट्टामा मुनिको कालो भागमा वास्तविक मूल्य २ सय ३० रुपैयाँ उल्लेख छ । तर, वास्तविक मूल्य लेखिएकै ठाउँमा प्लास्टिक कभरको माथिबाट २ सय ८० रुपैयाँ लेखिएको कालो स्टिकर टाँस गरिएको छ ।

यस्तै, मार्लबोरो गोल्ड उल्लेख गरिएको चुरोटको बट्टाको मुनिपट्टि वास्तविक मूल्य २ सय ८० रुपैयाँ लेखिएकोमा त्यसमा पनि उसै गरी प्लास्टिक कभरको माथिबाट ३ सय ५० रुपैयाँ उल्लेख गरिएको कालो स्टिकर लगाइएको छ । यसले मार्लबोरो चुरोटले नेपाललाई वास्तविक मूल्यको मात्रै राजस्व तिरी एउटै चुरोटका बट्टामा ५० र ७० रुपैयाँ बढी लिएर उपभोक्ता र सरकार दुवैलाई ठग्दै आएको प्रष्ट हुन्छ ।

त्यस्तै राजश्व छलीको चुरोट शंकर ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत रहेको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगमा भण्डारण गर्ने गरेको पाइएको छ । मजदुरहरूलाई कहिले म्याद गुग्रिएको त कहिले पानीमा भिजेको भनेर साढे दुई ट्रक चुरोट जलाइएसमेत भेटिएको छ । 

तर यही चुरोटका कार्टुन मजदुरहरूले एक साताअघि फेरि उद्योगमा माथिल्ला पदमा कार्यरत कर्मचारीहरूको कोठा-कोठामा देखे । त्यसपछि राजश्व छलीबारे गाइँगुइँ भइरहँदा हिजो साँझ उद्योगमा होहल्लै भयो र प्रहरी उद्योग पुग्यो । प्रहरीले उद्योगबाट चुरोटका तीनवटा कार्टुन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

भित्र अझै पनि थुप्रै चुरोट रहेको जानकारी दिएका मजदुरहरूले यो विषय सार्वजनिक भएपछि उद्योगले त्यसलाई पनि जलाउन वा अन्यत्र लैजान खोजिरहेको दाबी गरेका छन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा सौर्य सिमेन्टका महाप्रबन्धक जीवन नेपाल सम्पर्कमै आउनुभएन भने उद्योगका प्राविधिक प्रमुख गुरुदयाल सिंह काम नलाग्ने चुरोट भएकोले जलाउन मात्रै यहाँ ल्याइएको दाबी गर्नुभयो ।

आन्तरिक राजश्व कार्यालय लहानले पनि यस विषयमा जानकारी पाइसकेको र प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको जनाएको छ । वास्तविक मूल्यभन्दा बढीको स्टिकर टाँस गरिएको विषयमा भने वाणिज्य विभाग उत्तरदायी हुने आन्तरिक राजश्वको भनाइ छ ।

आन्तरिक राजश्वको यो जवाफ पछि चुरोटका बट्टामा वास्तविक मूल्य लेखिएको ठाउँमा बढी मूल्य लेखिएको स्टिकर लगाउन पाइन्छ कि पाइन्न भनेर मधेश प्रदेश हेर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जलाई सोध्दा यस्तो कार्य अवैध ठहरिने जवाफ पाइयो ।

सिरहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले भने बट्टामा लगाइएको बढी मूल्यकै राजस्व बुझाएको भए त्यो गलत नहुने तर आयात गर्दाको कम मूल्यको राजस्व बुझाएको र पछि बढी मूल्य कायम गरी बेचेको भए ठगी र राजस्व छली हुने बताउनुभयो ।

यता शंकर ग्रुप अफ इडस्ट्रिजमातहतको आयातकर्ता जगदम्बा ओभरसिजको व्यवस्थापन हेर्ने शैलेन्द्र खत्रीले भने यो चुरोट विदेशमा बन्ने भएकाले यस विषयलाई जटिल नबनाइदिन आग्रह गर्नुभएको छ । खत्रीले ढाकछोप गर्ने खोजेपछि सबै घटनाक्रमले यो राजश्व छली नै हो भन्ने पुष्टि भएको छ ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement