कोरियन एयरको सिन्डिकेटको मारमा नेपाली श्रमिक

श्रमिकमाथि आर्थिक भार बढेको बढ्‌यै
श्रावण ३२, २०८१ |सुमन पन्थ
कोरियन एयरको सिन्डिकेटको मारमा नेपाली श्रमिक

काठमाडौं । श्रमका लागि कोरिया जाने श्रमिकसँग लिईंदै आएको चर्को हवाई शुल्कका विषयमा संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चासो राखेको छ । कोरियन एयरले मात्र श्रमिक लैजान पाउने व्यवस्था गर्दा चर्को शुल्क तिर्नुपरेको भन्दै समितिका सदस्यहरुले आफूखुसी टिकट काटेर जान सक्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका छन् ।

कोरियन एयरलाइन्स र काठमाडौंस्थित युनिभर्सल ट्राभल्स एण्ड टुरको मिलेमतोमा एक वर्षमा मात्र कोरिया जाने श्रमिकबाट १ अर्ब १५ करोड रुपैयाँभन्दा बढी पैसा असुलिएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । श्रमिक ठगिँदा पनि नियमन गर्न नसकेको भन्दै उनीहरुले सरकारको आलोचना गरे । श्रम गर्न जानेहरुसँग कोरियन एयरले एकतर्फी भाडा मात्रै करिब १ लाख २० हजार असुलेकोमा उनीहरुले विरोध गरेका हुन् । कोरिया उडान गर्ने अरु एयरलाइन्सले आधामै लैजाने गरे पनि टेण्डरमा सेटिङ गरिँदा श्रमिक समस्यामा परेको सांसदहरुको भनाइ थियो ।

समितिमा उपस्थित भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले भने कोरियन एयरलाइन्सको सेटिङ तोड्ने प्रक्रिया सरकारले अघि बढाए पनि अदालतमा मुद्दा परेकाले रोकिएको बताउनुभयो ।

सांसदहरुले नेपालदेखि खाडीका मुलुकमा जाने श्रमिकसँग समेत मनपरी हवाई भाडा लिइएको भन्दै नियमन गर्न सरकारको ध्यानाकर्षण गराए । सांसदहरुले नेपाल वायुसेवा निगमलाई सक्षम बनाएर नेपाली श्रमिक जाने मुलुकमा सिधा उडान गरी अन्य एयरलाइन्सको सिन्डिकेट तोड्न सुझाव दिए । सांसदहरुले उठाएका विषयमा सरकारले पहल गरिरहेको भए पनि परिणाम निकाल्न नसकिएको स्वीकारोक्ति मन्त्रीको थियो ।

सरकारले वैदेशिक रोजगारीमा शून्य लागतको नारा लगाउने गरेको छ तर हवाई भाडाका नाममा श्रमिकमाथि शोषण हुँदा पनि सरकार रमिते बन्दै आएको छ । यसले श्रमिकमाथि आर्थिक भार बढेको बढ्‌यै छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement