सहकारीले निक्षेप फिर्ता नगर्दा बिचल्लीमा बचतकर्ता

गुजारा चलाउनेदेखि उपचारमै समस्या
ज्यानै गुमाउनुपरेको भन्दै काठमाडौँमा प्रदर्शन
श्रावण २७, २०८१ |सुदिल पोखरेल
सहकारीले निक्षेप फिर्ता नगर्दा बिचल्लीमा बचतकर्ता

काठमाडौं । सहकारीका समस्या समाधान गर्ने भन्दै धेरै कोणबाट कामहरू भइरहेका छन् । ठोस समाधान भने निस्कन सकेको छैन । सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा देशैभरका बचतकर्ताकर्ता बिचल्लीमा परेका छन् । दैनिक गुजारा चलाउनेदेखि औषधि उपचारमा समेत समस्या छ । समस्याग्रस्त १९ वटा सहकारीबाट बचत रकम फिर्ता गर्ने कामले समेत तीव्रता पाउन नसक्दा पीडितमा आक्रोश झन् बढिरहेको छ । कानुनी  व्यवस्था र जनशक्तिसँगै  सरकारले आवश्यक सहयोग नगर्दा बचत फिर्तामा समस्या भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।

८० दिनदेखि रिले अनसन गरिरहेका सहकारीपीडितहरुले आइतबार सहकारीले बचत फिर्ता नदिँदा बचतकर्ताको मृत्यु भएको भन्दै काठमाडौंमा प्रदर्शन गरे । उनीहरूले शनिबार वीर अस्पतालमा मृत्यु भएका राजेन्द्र स्थापितलगायत समग्र सहकारी पीडितका लागि न्यायको माग गर्दै कफिन बोकेर सहर परिक्रमा गरे । मस्तिष्क घात भएपछि वीर अस्पताल पुर्‍याइएकोमा धरौटी रकम जुटाउन नसक्दा उपचारमा ढिलाइ भएको राजेन्द्रका आफन्तको दाबी छ ।

कान्तिपुर टेलिभिजनले यस विषयमा वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलसँग कुरा गर्दा स्थापित मस्तिष्क घात भएर आएकाले जटिल अपरेसनका लागि आवश्यक उपचार सामाग्री किन्न पैसाको जोहो गर्न भनिए पनि धरौटी भने नमागिएको दाबी गर्नुभएको छ । मृतक स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत रहेको परिवारको भनाइ छ । ३ सय सहकारीका पीडितहरू अहिले बचत फिर्ताका लागि सरकारको पहल गर्नुपर्ने माग गर्दै रत्नपार्क शान्तिबाटिकामा अनसन बसिरहेका छन् । 

यि मध्ये १९ वटालाई  सरकारले समस्याग्रस्त घोषणा गरेर बचत फिर्ताको काम थाले पनि साह्रै सुस्त छ । १९ वटा सहकारीमा मात्रै बचतकर्ताको ३६ अर्ब रकम फसेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको आँकडा छ । समस्याग्रस्त सहकारीमा मात्रै ५९ हजार पीडित छन् । बचतकर्ताको रकम फिर्ता गराउने जिम्मा पाएको समिति सदस्यले सरकारले ढिलो मात्रै सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने र त्यतिन्जेल सम्ममा सञ्चालकले सम्पत्ति बेचिसक्ने र बाँकी सम्पत्तिमा पनि बैंकको दाबी हुने हुँदा बचतकर्ताको रकम छिटो फिर्ता दिन नसकिएको तर्क छ ।

बचत फिर्ता नपाउँदा बचतकर्ताहरूले कहिले अनसन त, कहिले र्‍याली गरेर सरकारलाई दबाब दिइरहेका छन् । तर, सरकार भने समिति बनाउने, तर, त्यसलाई अधिकार तथा जनशक्ति नदिने गर्दा यो समस्या ज्युँका त्युँ छ । जसले बचतकर्तामा निराशा बढ्दै गएको छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement