निर्माण व्यवसायीको वक्यौता रकम चाँडै भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल

श्रावण २, २०८१ |सुदिल पोखरेल
निर्माण व्यवसायीको वक्यौता रकम चाँडै भुक्तानी हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको वक्यौता रकम चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको रकम निकासा गर्ने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले आगामी दिनमा निर्माणको काम सकेको रकम पाइएन भनेर सरकारसँग आउनुपर्ने अवस्था नरहने बताउनु भयो ।

अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रका बाह्य केही सूचकबाहेक सबै कुरा घट्दो क्रममा रहेको र आफूले त्यसलाई सुधार गर्ने लक्ष्यसहित काम गर्ने जनाउनु भयो । 

'अहिलेको मूल समस्या घटेको मनोबल हो । उत्पादन, रोजगारी, आयात-निर्यात सबै घटेका छन् । सबैभन्दा बढी निजी क्षेत्रको मनोबल घटेको छ,' अर्थमन्त्री पैडेलले भन्नु भयो, 'सरकारको मुख्य प्रथामिकता घटेको मनोबल उकास्ने हुनेछ । मनोबल उकास्न सरकारले नीतिगत सहजता गर्नेछ ।'

अर्थमन्त्रीले विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको उपभोग गरिरहेकाहरुको वास्तविक बिल पेस गर्न नसकेको आफूले महसुस गरेको जनाउनु भयो । उद्योगी-व्यवसायी र विद्युत प्राधिकरणबीच डेडिकेटेड लाइनको बिललाई लिएर लामोसमय देखि विवाद चलिरहेको सन्दर्भमा अर्थमन्त्री पौडेलले गैरकानुनी रुपमा उद्योगीमाथि दायित्व सिर्जना गरिएको बताउनु भयो । 

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले काम गराएर पनि भुक्तान नगर्दा निर्माण व्यवसायीमा निरासा छाएको जनाउनु भएको थियो । ढकालले पहिला थुन्ने र सुन्ने सरकारी रबैयाका कारण उद्योगी-व्यवसायी हतोत्साही भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । 

उहाँले लघुवित्त र सहकारीमा समस्या आउँदा गाउँमा समेत आर्थिक कारोबार सुस्त भएको जनाउनु भयो । अध्यक्ष ढकालले आउने मौद्रिक नीतिमा यसलाई सम्बोधन गर्नुपर्ने माग राख्नु भयो ।

ढकालले  लगानीको मनोबल उकास्न र निजी क्षेत्रको समस्या बुझ्न निजी क्षेत्रसहितको संयन्त्र अथवा आयोग गठन गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement