कर्जाको माग नभएपछि राष्ट्र बैंकले बैंकहरुबाट ३ खर्ब ४ अर्ब रुपैयाँ खिच्यो

भाद्र १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कर्जाको माग नभएपछि राष्ट्र बैंकले बैंकहरुबाट ३ खर्ब ४ अर्ब रुपैयाँ खिच्यो

काठमाडौं । कर्जाको माग नभएर बैंकहरुमा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ३ खर्ब ४ अर्ब खिचेको छ । ब्याजदर तल झर्न नदिन राष्ट्र बैंकले अहिले बैंकहरुलाई ब्याज नै दिएर पैसा तानेको हो ।

राष्ट्र बैंकले आज मात्रै झन्डै ३ प्रतिशत ब्याजदरमा बैंकहरुबाट ३७ अर्ब ६० करोड रुपैयाँ खिचेको हो । एक बैंकले अर्को बैंकबाट पैसा लिँदा तिर्ने ब्याजको दर ३ प्रतिशतभन्दा तल जान नपाओस् भनेर राष्ट्र बैंकले पैसा तानेको हो । कर्जाको माग नबढेको तर रेमिट्यान्समार्फत् पैसा भित्रिँदा बैंकहरुमा पैसा थुप्रिरहेको छ । बजारमा वस्तुको माग बढ्न नसक्दा आयातका लागि पनि कर्जा जान नसकेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारीको भनाइ छ । 

गत वर्षको साउनमै राष्ट्र बैंकले पैसा खिच्नुपर्ने अवस्था आएको थिएन । तर, गत वर्षको अन्त्यसम्म निरन्तर रकम थुप्रिने क्रम बढेपछि यस वर्ष भने राष्ट्र बैंकले साउनबाटै पैसा खिच्नुपर्ने अवस्था आएको हो । यसरी ब्याजदर धेरै तल जान नदिन राष्ट्र बैंकले बैंकहरुबाट पैसा तान्दा गत आर्थिक वर्ष २ अर्ब ९ करोड रुपैयाँ खर्च गरेको थियो । उद्यमी व्यवसायी अझै अर्थतन्त्र चलायमान हुनेमा ढुक्क हुन नसक्दा थप लगानीका लागि ऋण लिन बैंकमा गएका छैनन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement