सवारी लाइसेन्स छाप्न नसक्ने सरकार भन्छ- अब रसिदमै फोटो र क्यूआर राखेर दिन्छौं

स्मार्ट कार्ड दिन नसकेपछि तत्कालीन उपाय खोजिएको दाबी
भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सवारी लाइसेन्स छाप्न नसक्ने सरकार भन्छ- अब रसिदमै फोटो र क्यूआर राखेर दिन्छौं

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्रको ट्रायल पास गर्नेहरुलाई अब फोटो र क्यूआर कोडसहितको रसिद दिने भएको छ ।

तत्काल स्मार्ट कार्ड दिन नसक्ने भएपछि सरकारले रसिदमै फोटो आउने गरी कार्ड दिने भएको हो । यसैगरी ट्राफिक प्रहरीलाई क्यूआर कोड पढ्ने मेसिन उपलब्ध गराइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ भएकाले तत्काल समस्या समाधानका लागि नयाँ उपाय अबलम्बन गरिएको बताउनुभयो ।

ट्रायल पास गरेका १५ लाख सेवाग्राहीले अझै स्मार्ट कार्ड पाउन सकेका छैन । यातायात व्यवस्था विभागको मेसिनले अहिले खरिद गरेका नयाँ कार्ड रिड गर्न नसकेपछि नयाँ विकल्प खोजिएको हो । त्यस्तै संघीय सरकारले अत्यावश्यक बाहेक अन्य कार्ड प्रदेशबाटै छाप्न आग्रह समेत गरेको छ ।

समस्या समाधानका लागि संघीय सरकारका भौतिकमन्त्री संयोजक रहेको कमिटीसमेत गठन गरिएको छ । बागमती प्रदेश सरकारले कार्ड आफैं छाप्ने बताएपछि अन्य प्रदेशले तयारी गरेको जनाएका छन् । एक वर्षसम्म पनि सामान्य सवारी चालक अनुमतिपत्र दिन नसकेको भन्दै सरकारको कार्यसम्पादन माथि प्रश्न उठिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement