कसरी उकास्ने उद्योगी-व्यवसायीमा गिरेको मनोबल ?

वैशाख ५, २०८१ |सुदिल पोखरेल
कसरी उकास्ने उद्योगी-व्यवसायीमा गिरेको मनोबल ?

काठमाडौं । बर्सेनि ब्याजदर सस्तो हुँदै गए पनि लगानीकर्ताहरू बैंकमा ऋण लिन खासै गएका छैनन् । जसका कारण अहिले पनि बैंकमा ५ खर्ब ६३ अर्ब लगानीयोग्य रकम थुप्रिएको छ । उद्योगी-व्यवसायीमा गिरेको मनोबल उकास्न सकेमात्र अर्थतन्त्र चलायमान हुने भएकाले त्यसका लागि सरकारले पहल गर्नुपर्ने सुझाव विज्ञले दिएका छन् । 

कर्जाको ब्याजदर कोरोना महामारीअघिकै हाराहारीमा पुगेको छ । महामारीअघि कर्जाको औसत ब्याजदर ११ दशमलव नौ चार प्रतिशत थियो । महामारीका कारण लगानीका ढोका बन्द भएपछि २०७८ साउनमा ८ दशमलव चार तीनसम्म खुम्चियो । तर राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएपछि गत वर्षको फागुनमा १३ दशमलव शून्य तीनसम्म पुगेको ब्याजदर अहिले पुनः औसत १० दशमलव सात आठमा झरिसकेको छ । तर पनि कर्जाको माग भने हुन सकेको छैन । 

बचतकर्ताबाट संकलन गरेको रकमको ९० प्रतिशतसम्म कर्जाको रूपमा लगानी गर्न पाउने अवस्थामा, अहिले ८० प्रतिशत मात्रै लगानी भएको छ । गत वर्षको चैतदेखि अधिक तरलता हुन थालेकामा अहिले पनि साढे ५ खर्बभन्दा बढी रकम थुप्रिएको छ । केही व्यवसायी अहिले पनि ब्याजदर उच्च रहेको तर्क गर्छन् । तर, अहिलेको मुख्य समस्या व्यवसायीमा गुमेको मनोबल हो । उद्योग तथा व्यापार गर्दा घाटामा गइने हो कि, व्यवसाय नहुने पो हो कि भन्ने मात्रै हैन, सरकारी निकायको कारबाहीमा परिने हो कि भन्ने समेत भय देखिन्छ । 

लगानी गर्नुपर्ने रकम बैंकमा नै थुप्रिँदा बैंकहरुको खर्च मात्रै बढाएको छैन, उद्यम र रोजगारीका अवसरसमेत कम भएका छन् । अहिले घरजग्गाको कारोबारमा मात्रै कमी छैन, सहकारीको पैसा फिर्तामा समस्या र बजारका सटर बन्द भएका छन् । युवा पलायन रोकिएको छैन । अब अर्थतन्त्र चलायमान बनाउन निश्चित क्षेत्र पहिचान गरी लगानी बढाउनुपर्ने विज्ञको सुझाव छ । 

विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ भने आयात र निर्यात दुवै खुम्चिएका छन् , यसले मुलुक अहिले पनि आर्थिक शिथिलतामा रहेको देखाउँछ । अब सरकारको मुख्य ध्यान भनेकै उद्योगी तथा व्यवसायीको मनोबल उकास्दै अर्थतन्त्र चलायमान बनाउनेतर्फ हुनुपर्छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement