काठमाडौं । अजरबैजानको बाकुमा गत वर्ष सम्पन्न विश्व जलवायु सम्मेलन-कप-२९ मा धनी मुलुकहरूले जलवायुजन्य विपद्को सामना गरिरहेका अल्पविकसित र गरिब मुलुकहरूमा प्रति वर्ष तीन सय बिलियन डलर परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए ।
तर ती मुलुकले प्रतिबद्धता पूरा नगर्दा नेपालस्ता मुलुकले जलवायुजन्य क्षतिको राहत पाउन सकेका छैनन् । अहिले ब्राजिलको वेलेम सहरमा विश्व जलवायु सम्मेलन कप-३० चलिरहेको छ । अजरबैजानको राजधानी बाकुमा गत वर्ष सम्पन्न विश्व जलवायु सम्मेलन कप-२९ मा निर्णय भयो-जलवायुजन्य विपद्को सामना गरिरहेका अल्पविकसित र गरिब मुलुकहरूमा सन् २०३५ सम्म प्रतिवर्ष तीन सय बिलियन डलर परिचालन गर्ने ।
यद्यपि अल्पविकसित मुलुकहरूको माग वार्षिक १ दशमलव ३ ट्रिलियन अमेरिकी डलर थियो । जसको रोडम्याप पनि बनिसकेको छ । कप २९ मा तीन सय बिलियन अमेरिकी डलर धनि र बढी कार्बन उत्सर्जन गर्ने मुलुकले व्यहोर्ने सहमति भएको थियो । तर, धनि मुलुकहरूको अनिच्छा र गरेका प्रतिबद्धता पुरा गर्न इमान्दार नबन्दा नेपालजस्ता मुलुकहरूले क्षतिको राहत पाउन सकेका छैनन् । विज्ञहरू भन्छन्- धनि देशहरु इमान्दार नबन्दा रकम जम्मा हुने बाटो नै अवरूद्ध भयो ।
त्यसो त नेपालले जलवायु परिवर्तनको असर र त्यसले पारेको प्रभावबारे विश्वसमुदायलाई ध्यानकर्षण गराइरहेकै छ । बाकुबाट फर्किएपछि नेपालले दर्जनौं राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्ना समस्या सुनाएको छ । सगरमाथा संवाद नेपालमै आयोजना गरेर नेपालको समस्या स्थलगत रूपमै देखाएको छ । तर, परिणाम भने निस्किएको छैन ।
नेपालमा काम गरिरहेका विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले रकम भित्र्याइरहेका भए पनि पर्याप्त छैन । कप-३० लाई गत वर्ष भएको निर्णय कार्यान्वयनको अवसरका रूपमा लिइएको छ । सँगै यही कपबाट जलवायु अनुकूलनको स्पष्ट मार्गचित्रसहितका निर्णय हुने छन् । जिवाश्म इन्धन खपत, व्यवस्थापन, वन, समुन्द्र र जैविक विविधता संरक्षण अभिवृद्धि, खाद्य प्रणालीको रूपान्तरणलगायतबारे कपमा छलफल हुँदैछ ।
जलवायु परिवर्तनले मुलुकमा विपद्को चिन्ता झनै बढाएको छ । धान रोप्ने बेला बर्खामा पानी नपर्ने, धान थन्काउने बेला दुई-तीन दिनसम्म लगातार पानी पर्ने, हिमताल बिस्फोटको घटना बढ्नेदेखि पानीका मुहान सुक्नेलगायत समस्या बढ्दै गएका छन् । यसैले सरकारले अझ सशक्त ढंगबाट नेपालको समस्या विश्वसमुदायमाझ राख्दै विपद्ग्रस्त मुलुकहरूको समूह निर्माण गरी सामुहिक दबाब दिन सक्नु पर्छ ।