
काठमाडौं । कर्णाली एस्विजले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई पाँच सेटमा पराजित गरेको हो । यससँगै कर्णालीले उपाधि रक्षा गर्दा ललितपुर भने लगातार दोस्रो पटक उपविजेतामा चित्त बुझायो । गत सिजनको फाइनलमा समेत यी दुबै टिमले प्रतिस्पर्धा गरेका थिए ।
त्रिपुरेस्वरस्थित राष्ट्रिय खेलकुद परिष्दको कवर्डहलमा कर्णालीले पहिलो सेट २६-२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट पनि २५-१७ ले जितेको कर्णालीले त्यसपछिका दुबै सेटमा भने लय गुमाएको थियो । तेस्रो सेट २५-१३ ले जित्दै ललितपुरले खेलमा पुनरागमन गरेको थियो ।
चौथो सेट पनि ललितपुरले २५-१७ ले जितेपछि खेल पाँचौं सेटमा धकेलिएको थियो । अन्तिम सेटमा भने कर्णालीले एकपक्षीय जित हात पार्यो । निर्णायक सेटमा १५-८ को नतिजा हात पारेपछि कर्णालीले उपाधि रक्षा गरेको हो । यसअघि पोखरामा भदौ २० देखि २८ गतेसम्मका लागि तय भएको प्रतियोगिता जेन-जी आन्दोलनका कारण बीचैमा रोकिएर काठमाडौँमा सारिएको थियो ।
लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।