सिरहामा एमालेको मोटरसाइकल र्‍यालीमा मान्छे उतार्न पेट्रोल वितरण

कार्तिक २९, २०८२ |विनय आजाद
सिरहामा एमालेको मोटरसाइकल र्‍यालीमा मान्छे उतार्न पेट्रोल वितरण

सिरहा । नेपाल कम्युनिस्ट पार्टी (एमाले)द्वारा सिरहा सदरमुकाममा आयोजित कार्यक्रममा मान्छे उतार्न इन्धन वितरण गरिएको छ । 

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै शनिबार सिरहामा एमालेद्वारा आयोजित मोटरसाइकल र्‍याली तथा जागरण सभामा मान्छे उतार्न इन्धन बाँडिएको हो । सिरहास्थित जयशंकर ट्रेड सेन्टरमा सवारीसाधनमा इन्धन वितरण गर्ने कामको अगुवाइ गर्दै भेटिएका एक एमाले कार्यकर्ताले प्रतिमोटर साइकललाई तीन लिटर पेट्रोल वितरण गरिएको बताए । गाउँ-गाउँबाट मान्छे बोकेर आएका ठूला सवारीसाधनलाई भने दसदेखि १५ लिटरसम्म डिजेल तथा पेट्रोल वितरण गरिएको छ ।

यहाँमात्र नभई जिल्लाका अन्य पायक पर्ने विभिन्न पेट्रोल पम्पहरूबाट समेत इन्धन वितरण गरिएको थियो । यस कार्यक्रममा सिरहा जिल्लाका १७ वटै स्थानीय तहबाट करिब ८ हजार मोटरसाइकल र १५ हजारबढी मान्छे सहभागी भएको एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले दाबी गर्नुभयाे ।

कार्यक्रममा सहभागीसमेत रहेका मण्डलले इन्धन बाँडिएको कुरा भने सुरूमा त अस्वीकार गर्नुभयाे । तर, तपाईंहरूले जिल्लामा जितेका स्थानीय तहको सरकारी स्रोतबाट पेट्रोल बाँड्नुभयो भन्ने चर्चा छ नि रू भन्ने कान्तिपुरको प्रश्नमा उहाँले भन्नुभयाे, 'सरकारी रकमबाट होइन, पार्टीले कार्यकर्ताबाटै सहयोग उठाएर इन्धन दिएको हो ।'

यस्तै, यो कार्यक्रममा सरकारी सवारीसाधन पनि व्यापक दुर"पयोग भएको पाइएको छ । सिरहाका बासिन्दासमेत रहेका एमालेका स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठसहित प्रदेश र जिल्ला तहका नेताहरू कार्यक्रममा सहभागी थिए ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।