
काठमाडौं । फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि अधिकांश राजनीतिक दलहरूले तयारी सुरू गरिसक्दा पनि नेकपा एमाले अनिर्णित छ ।
उसले प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित देशव्यापी जागरण अभियान चलाइरहेको छ । एमालेले अहिलेसम्म चुनावमा नजाने भनेको छैन तर निर्वाचन आयोगले छलफलका लागि बोलाउँदा पनि सहभागी भइरहेको छैन । बरू नेताहरूले एउटै अभिव्यक्ति दिइरहेका छन्- नहुने चुनावमा कसरी भाग लिनु ? एमालेका नेताहरूको यो भनाइ किन त ?
जेन-जी आन्दोलनपछि गतअसोज २९ देखि ३१ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि पुनर्स्थापना गर्नुपर्ने निर्णय गरे पनि चुनावका विषय मौन बस्यो । त्यसपछि एमालेका नेताहरू सरकार गठन नै असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने मागसहित सडकसम्म पुगेका छन् ।
चुनावमा जान मंसिर १० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता गराइसक्नुपर्छ । एमालेले दल दर्ता गर्ने निर्णय गरेको छैन । बरू देशव्यापी जागरण अभियान लिएर हिँडेको छ । अभियानका क्रममा नेताहरूले एउटै भनाइ राखिरहेका छन्- नहुने चुनावमा कसरी भाग लिनु ?
एमालेले चुनाव नै नहुने जिकिर गरिरहे पनि सरकार र निर्वाचन आयोगले मात्र होइन, अरू दलले पनि तयारी थालिसकेका छन् । निर्वाचन आयोगले चुनावी कार्यतालिकाका विषयमा बोलाएको छलफलमा एमालेबाहेकका दल सहभागी भए । एमालेले भने प्रतिनिधि सभा पुनर्स्थापनाकै दबाब बढाउँदै लगेको छ ।
सरकार र निर्वाचन आयोगले चुनावी वातावरण बनाउँदै लगेका बेला एमालेका नेताहरू भने भड्काउ अभिव्यक्ति दिइरहेका छन् । विगतको सत्ता सहयात्री दल कांग्रेसलाई पनि उसले फकाउन छाडेको छैन । त्यसो त एमालेका केही नेता भने चुनावमा जान तयार छन् ।
पार्टीले आधिकारीक निर्णय नगर्दा सार्वजनिक रूपमा उनीहरू चुनावका पक्षमा खुलेका छैनन् । मंसिर २ गते एमालेले विघटित प्रतिनिधि सभा संसदीय दलको बैठकसमेत बोलाएको छ । यो बैठकमा पनि चुनाव र जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थाबारे छलफल हुने नेताहरूले बताएका छन् ।
जेन-जी आन्दोलनमा एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चरम दमन गरेको भन्दै जनस्तरमा तीव्र आलोचना भइरहेको छ । आन्दोलनमा धेरै जनधनको क्षति हुनेमा ओलीकै अहमता प्रमुख कारण भन्दै आलोचना भए पनि त्यसको जिम्मेवारी न ओलीले लिनुभएको छ न त पार्टीले नै । बरू सरकारको आलोचनासहित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै जाने र जनता माझ आफू पानीमाथिको ओभानो बन्ने रणनीति एमाले अपनाइरहेको छ ।
आफूलाई लोकतान्त्रिक शक्ति भन्ने तर चुनावमा जाने निर्णय गर्न नसक्ने दोहोरो नीतिका कारण अप्ठ्यारो पर्ने भय एमालेलाई छ । एमालेका अधिकांश पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू चुनावको पक्षमा रहे पनि अध्यक्ष ओलीसामु खुलस्त धारणा राख्न सकिरहेका छैनन् । उनीहरू चुनावको वातावरण बनाउनुपर्ने भनिरहेका छन् ।
अर्कोतर्फ प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित जागरण अभियान चलाइरहेका एमालेले भित्रभित्रै भने चुनावकै तयारी गरेको बुझाइ कतिपयको छ । यो अभियानलाई पार्टीको लोकप्रियता जाँच्ने, विगतका गल्तीकमजोरीको समीक्षा गरेर अघि बढ्ने रणनीति एमालेले लिएको देखिन्छ ।