
काठमाडौं । ऋण प्रवाह हुने मुख्य समयमै बैंकहरूका ऋण शाखा सुनसान छन् ।
जेन-जी आन्दोलनपछि मनोबल गुमाएको निजी क्षेत्रले लगानी बढाउन सकेको छैन । त्यसमाथि फेरि आन्दोलन हुने हो कि भने त्रासले व्यवसायीले यसअघि ऋण लिन अघि बढाएका प्रस्तावसमेत फिर्ता गर्न थालेका छन् । जसका कारण बैंकमा झन्डै १२ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ । पछिल्लो समय त व्यवसायीले यसअघिको ऋणको ब्याजसमेत तिर्न छाडेपछि लगानी बढाउन बैंकहरू पनि झस्किएका छन् ।
विगतका वर्षहरूमा दशैं-तिहार र छठपछि बैंकहरूबाट ऋण प्रवाह बढ्ने गरेको थियो । तर यसपटक व्यवसायी ऋण लिन बैंकमा गएका छैनन् । ऋण प्रवाह गर्ने बैंकका शाखाहरू सुनसान छन् । त्यति मात्र नभएर भदौसम्म ऋणको प्रस्ताव गरेका व्यवसायीले अहिले तत्काल नलिने भन्दै बैंकहरूलाई जानकारी गराएर आफूहरूले गरेका प्रस्ताव फिर्ता गर्न थालेका छन् ।
त्यही कारण बैंकहरूमा अहिले झन्डै १२ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ । ८ खर्ब ७६ अर्ब त बैंकहरूले राष्ट्र बैंकमा लगेर राखेका छन् । जेन-जी आन्दोलनपछि मनोबल गुमाएका व्यवसायी फेरि आन्दोलन भएर थप क्षति बेहोर्नुपर्ने हो कि भन्ने त्रासमा रहँदा ऋण नगएको बैंकर्स बताउँछन् ।
कर्जा प्रवाह नभएपछि बचतकर्ताले पाउने ब्याजदर ३ प्रतिशतभन्दा तल नझार्न राष्ट्र बैंकले पटक-पटक बजारबाट ब्याज दिएरै पैसा उठाइरहेको छ । कात्तिकमा मात्र ३ खर्ब रकम राष्ट्र बैंकले खिचेको छ । यसले बैंकमा निक्षेप बढेको तर कर्जा नगएको पुष्टि हुन्छ । असार यतामात्रै १ खर्ब ९५ अर्ब निक्षेप थप्रिँदा जम्मा ५२ अर्ब मात्रै कर्जा गएको छ । नेपाल राष्ट्र बैंकले अब कर्जा बढाउन थप नीतिगत सहजता गर्ने ठाउँ नै नभएको बताएको छ ।
त्यसो त जेन-जी आन्दोलनपछि बैंकहरूमा ब्याज र किस्ता नतिर्ने क्रम बढेको छ । लगानीकर्ताहरू भैपरी आउने खर्चका लागि रकम जोहो गर्न लाग्दा बैंकको ब्याज तिर्नतर्फ नलागेको हुनसक्ने बैंकर्सको बुझाइ छ । ब्याज तथा किस्ता नियमित नभएकैले असोजसम्ममा बैंकहरूको खुद नाफा १८ प्रतिशतले घटेको छ भने खराब कर्जा बढेको छ । अब थप लगानी बढाउन फागुन २१ गतेका लागि घोषित चुनावमा जाने प्रतिबद्धता सबै दलले गर्नुपर्ने लगानीकर्ता बताउँछन् ।