बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छ : अर्थमन्त्री खनाल

अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा नरहेकाे भनाइ
कार्तिक २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।

वर्तमान अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको उल्लेख गर्नुहुँदै उहाँले अब विगतमा जस्तो सरकारले डोहोर्‍याएर ठाउँ तोकिदिने परिपाटी नरहेको बताउनु भयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र नभएको जिकिर गर्नुभयो । प्रत्येक पाँच वर्षमा नेपालमा केही न केही दुर्घटनाहरू हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्रै चरित्र होइन । यो निकै लामो समयदेखिको चरित्र हो । प्रत्येक पाँच, ६ वर्षमा केही न केही यस्ता दुर्घटनाहरू भोग्ने गरेका छौँ । कतिपय प्राकृतिक, आर्थिक र राजनीतिक दुर्घटना होलान् । यस पटक जसरी जेन-जीहरूले प्रविधिको प्रयोग गरेर देखाए, लाखौँ मानिसहरू जम्मा गरे । त्यही द्रुत गतिमा सरकार गठन भयो, त्यही द्रुत गतिमा रिकभरीको तयारीमा हामी गयौँ । अहिले अर्थतन्त्रको चरित्र परिवर्तन भएको छ, त्यो बेलाको जस्तो सरकारले डोहोर्‍याएर यो यो कुरामा जानुपर्छ भन्ने जस्तो छैन । बजारको स्वतन्त्रलाई कुण्ठित नगरीकन बजारलाई बाटो देखाइदिनुपर्छ । त्यसमै हामी लागेका छौँ । छोटो अवधि छ, कुर्न सकिँदैन भनेर रोकिनु हुँदैन ।’

अर्थमन्त्री खनालले अहिले अर्थतन्त्रको अवस्था धेरै निराश हुनुपर्ने अवस्थामा पनि नरहेको बताउनु भयो । आर्थिक नीति, राजनीतिक नीतिले बाटो बिराउँदा कहिले कहीँ समस्या हुने गरेको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.