धूप उत्पादनमा व्यस्त जितपुर सिमराका यी महिला

स्वरोजगार बनेरै कमाउँछन् मासिक १० देखि १५ हजार रुपैयाँसम्म
फाल्गुन ७, २०८० |उपेन्द्र ठाकुर
धूप उत्पादनमा व्यस्त जितपुर सिमराका यी महिला

वीरगन्ज । घरको चुलाचौकामा सीमित बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४ का महिलाहरू यतिबेला स्वरोजगार बनेर मासिक १० देखि १५ हजार रुपैयाँसम्म कमाउन सफल भएका छन् । बाटेको धूप बनाउने तालिम लिएका यहाँका गृहिणी महिलाहरूले उत्पादित धूपको बजारीकरणमा समेत सहयोग पाएपछि सय जनाभन्दा बढी महिला स्वरोजगार बनेका हुन् ।  

कैँचीले काटेको नेपाली कागजमा सुगंधित मिश्रण हाल्दै त्यसलाई बाटेर धूप बनाउने काममा व्यस्त यी महिला हुन्, बारा जितपुर सिमरा वडा नम्बर ४ की भगवती परियार । केही दिनअघि आफ्नै वडामा सञ्चालित धूप बनाउने तालिम प्राप्त गरेसँगै यिनी अहिले स्वरोजगार बनेकी छिन् । 

भगवतीसँगै यस वडाका ८० जना महिलाहरू धूप बनाउने तालिम लिएका थिए । तालिम लिएकाहरू घरमै धूप बनाएर आम्दानी गर्नथाले पछि त्यसको सिको गर्दै अन्य पनि धूप बनाउने यो काममा जोडिएका छन् ।

कतिपय महिलाहरू बिहान घरको कामकाज सकेर घाममा समूहमै बसेर यसरी धूप बनाउँछन् भने केही घरको कामकाज गर्दै आफ्नै घर अगाडि धूप बनाएको भेटिन्छन् । धूप बनाउने यो काम सहज भएकोले परिवारका अन्य सदस्यहरू पनि यो काममा जोडिँदै गएका छन् ।

वडा कार्यालयसँग समन्वय गरी ८० जना महिलालाई बाटेको धूप बनाउने तालिम दिलाएका स्थानीय उद्यमी जनक दाहालले आफ्नै लगानीमा धूप बनाउने सामग्री घरघरमा पुर्याउँछन् । अनि महिलाले बनाएको धूप खरिद गरेर बजारीकरणमा सहजीकरण गर्छन् ।

एक महिनाभित्रै झन्डै सय जना महिला आबद्ध भएपछि दैनिक एक लाखको हाराहारीमा धूप उत्पादन भइरहेको छ भने यसमा महिलाहरू मासिक १० देखि १२ हजार रुपैयाँ आम्दानी पनि गर्दछन् । 


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।