वैदेशिक रोजगारीमा ठगिएका पीडितको हारगुहार

५ वर्षमा १४ सयभन्दा बढी आरोपी पक्राउ
माघ २८, २०८० |सुमन पन्थ
वैदेशिक रोजगारीमा ठगिएका पीडितको हारगुहार

काठमाडौं । नेपाली श्रमिकको मुख्य गन्तव्य मध्येको एक, संयुक्त अरब इमिरेट्सको आबुधाबीमा श्रमिक पठाउने र रोजगारदाता मुलुकहरुबीच संयुक्त बैठक चलिरहँदा यता काठमाडौंस्थित वैदेशिक रोजगार विभागमा आफूहरु ठगिएको भन्दै गुनासो गर्नेहरुको लर्को लाग्ने गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिकाका एक दर्जन युवाको दैनिकी हिजोआज वैदेशिक रोजगार विभाग धाउनमै ठिक्क छ । स्थानीय एजेन्टले भण्डारी म्यानपावर कम्पनीमार्फत मलेसिया पठाउने भन्दै १७ लाख पैसा लिएर फरार भएपछि रकम फिर्ता ल्याउन पीडितहरु काठमाडौं आएका हुन् ।

रोजगारीमा विदेश जान नपाएका युवा मात्र होइन, वैदेशिक रोजगारीमै गएर पनि काम नपाएको, एउटा काम भनि अर्कोमा लगाएको, कम्पनीले तलब नदिएको जस्ता गुनासा बोकेर विभागमा धाउने युवाको भिड लाग्ने गरेको छ ।

कामकै लागि विदेशिने दैनिक दुई हजारभन्दा बढी श्रमिकले वर्षमा भित्र्याउने ‍‍‍१२ खर्बभन्दा धेरै रकमले मुलुकको अर्थतन्त्र धानेको छ । तर श्रमका लागि बाहिरिने जनशक्तिमाथि पाइला-पाइलामा हुने ठगी नरोकिएको अधिवक्ता सुदीप देवकोटा बताउँछन् ।

म्यानपावर कम्पनीले ठगेको भन्दै पछिल्लो ६ महिनामा मात्रै वैदेशिक रोजगार विभागमा ६९० उजुरी परेको महानिर्देशक डण्डुराज घिमिरेले जनाए । उनका अनुसार उजुरीमा १३ करोड ८४ लाख ठगिएको माग दाबी गरिएको छ । व्यक्तिगत ठगीका मात्रै एक हजार ६७५ उजुरी प्रहरीमा परेका छन् । तर सरकारी दाबी मुद्दा किनारा लगाइरहेको भन्नेमै सीमित छ ।

विभागमा पछिल्लो ६ महिनामा मात्र १३ करोड ८४ लाख ठगिएको उजुरी परेको छ । वैदेशिक रोजगारीमा ठगीको मुद्दा र बिगो बढ्दै जाँदा ठगिएर विचल्ली हुने परिवारको संख्या पनि बढिरहेको छ भने वैदेशिक रोजगारीका नाममा मानव तस्करी पनि गम्भीर मुद्दा बनेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।