इन्द्रजात्रामा फेरिँदै परम्परा, बढ्दै महिला सहभागिता

आश्विन १४, २०८३ |नारायण किलम्बू
इन्द्रजात्रामा फेरिँदै परम्परा, बढ्दै महिला सहभागिता

काठमाडौं । परम्परागत रुपमा इन्द्रजात्रामा जीवित देवी कुमारीको सर्वोच्च भूमिका रहन्छ । 

कुमारीको रथयात्रा यस जात्राको मुख्य आकर्षण हो। मल्लकालदेखि आरम्भ भएको यो जात्रामा राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्मले तिनै कुमारीबाट आशिर्वाद लिने परम्परा छ । तर, इतिहास हेर्ने हो भने यही इन्द्रजात्रामा महिला सहभागिता लामो समय ओझेलमा पर्यो । 

अझ पहिले त रथ जात्रामा महिलाले डोरीसमेत छुन हुँदैन भनिन्थ्यो। तर, अब समयसँगै ती मान्यता तोडिँदै गएका छन् । डेढ दशकअघि इन्द्रजात्राको अन्तिम दिन नानीचायामा महिलाले रथ तान्न थाले । अब त नानाचाया इन्द्रजात्राको अभिन्न परम्परा नै बनेको छ ।

इन्द्रजात्राको अन्तिम दिनलाई नानीचाया जात्रा भन्ने परम्परा पहिल्यैदेखि थियो तर त्यस दिन महिलाको कुनै भूमिका हुँदैनथ्यो। तर, २०६९ सालमा पहिलोपटक रैथाने महिलाहरुले जीवित देवी कुमारी, गणेश र भैरवको रथ ताने । त्यसयता यस दिन महिलाले रथ तान्ने परम्परा नै बनिसकेको छ । 

नानीचाया जात्रा मंगलबार सकिइसकेको पनि छ। रथ तान्न विभिन्न टोलका महिला ठूलो भीड लाग्छ र तान्न प्रतिस्पर्धा नै हुन्छ । पहिले महिलाले रथको डोरी छुनै नहुने परम्परा । अहिले आएर कसरी रुपान्तरण भयो त ? समयको परिवर्तनसँगै साँस्कृतिक पर्वमा पनि रुपान्तरण आयो र संस्कृति संरक्षण गर्ने दायित्व आफूहरुको हो भन्ने महसुस महिलाहरुले पनि गर्न थाले । 

जसको सुरुआवात २०६९ मा भयो । यसबाट सांस्कृतिक जात्रा पर्वमा महिला र पुरुषबीच समानताको अनुभूति मिलेको जात्राका सहभागीको भनाइ छ । महिलाहरुको भूमिका अब रथ तान्नेमा मात्र सीमित छैन परम्परागत बौलिक बाजागाजा र धार्मिक महत्वको मुकुन्डो नाच देवी प्याँख, महाकाली प्याँखहरुमा समेत महिलाहरु देवगण भई सहभागी हुन थालेका छन् । 

इन्द्रजात्रामा मात्र होइने ललितपुरको रातो मच्छिन्द्रनाथ जात्रामा पनि एक दिन महिलाले रथ तान्छन्, जसलाई याक मिसाया भुज्या भनिन्छ । भक्तपुरको विस्केट जात्राका क्रममा गएको वर्ष भद्रकालीको रथ तानेर महिलाले इतिहास रचेका थिए । यसका साथै गाइजात्रा, योमरीपुन्हिलगायतका जात्रा पर्वमा पनि महिला सहभागिता बढ्दै गएको छ ।

परम्परागत धा धिमे नायखिंलगायत बाजाहरु समेत महिलाले बजाउन हुँदैन भनेर पुरुषहरुले मात्र बजाउने गर्थे । तर, पछिल्ला दशकहरुमा महिलाहरुमा आएको जागरणले काठमाडौं उपत्यकामा मनाइने परम्परागत जात्रा पर्वमा महिला सहभागिता बढ्दै गएको जीवित देवी कुमारीका पुजारी गौतम शाक्यको भनाइ छ ।

'नेवार समुदायका परम्परागत मुकुन्डोनाच' पुस्तकका लागि मदन पुरस्कार विजेता एवं संस्कृतिविद् वीणा जोशी जागरण, शिक्षा र आर्थिक समृद्धिसँगै परिवारिक सहयोगले जात्रा पर्वमा महिला सहभागिता बढ्दै गएको बताउँछिन् । यो कुनै विदोहबाट पाएको उपलब्धि भन्दा पनि प्रजातन्त्र प्राप्तिसँगै समाजमा आएको चेतना, सकारात्मक सोच र महिलाको हक अधिकारको उपलब्धिको रुपमा लिनुपर्ने जोशीको भनाइ छ।

संस्कृतविद् जोशीले १० वर्षको उमेरदेखि आफू विभिन्न नाचमा संग्लन हुँदाको समय सम्झिइन्। त्यतिबेला समाजमा महिला भएर किन नाचमा भाग लिएको भनेर फरक रुपमा हेर्ने गरिन्थ्यो। तर, समयक्रमसँगै समाजको त्यो धारणामा परिवर्तन आएको उनको अनुभव छ ।

धार्मिक, सांस्कृतिक र सामाजिक परिवर्तनसँगै महिलामा आएको चेतना वृद्धिले संस्कृति संरक्षणमा पनि सकारात्मक प्रभाव पारेको संस्कृतिविद्हरुको भनाइ छ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।