महाकालीमा पानीको बहाव बढेपछि ऐतिहासिक दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

आवागमन ठप्प
आश्विन १४, २०८३ |हरिश्चन्द्र बाग
महाकालीमा पानीको बहाव बढेपछि ऐतिहासिक दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कञ्चनपुर । महाकाली नदीले धार परिवर्तन गर्दा अलग्गिएको कञ्चनपुरको दोधारा चाँदनीलाई मूल भूमिसँग जोड्ने ऐतिहासिक झोलुङ्गे पुल चुँडिएको छ । 

भीमदत्त र दोधाराचाँदनी नगरपालिका जोड्ने महाकाली नदीमाथि बनेको झोलुङ्गे पुलको पश्चिमतर्फको तेस्रो पिलर ढलेपछि चुँडिएर नदीमै लत्रिएको छ । पुल चुँडिएसँगै अहिले यसबाट हुने पैदल तथा दुई पाङ्ग्रे सवारीसाधनको आवागमन पूर्णरूपमा बन्द भएको छ । 

सोही पुल हुँदै दोधाराचाँदनीसम्म गरिएका फोन तथा इन्टरनेटका तारहरूसमेत टुट्दा तार जडित सञ्चार सम्पर्कसमेत अवरुद्ध भएको छ । यी दृश्य कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको दोधारा चाँदनीको झोलुङ्गे पुलका हुन्। पुलको पश्चिमतर्फको तेस्रो पिलर नदीले बगाएपछि झोलुङ्गे पुल चुँडिएको छ। 

चुँडिएको भाग नदीतर्फ लत्रिएको अवस्थामा छ। पुल चुँडिएपछि पैदल यात्री तथा दुई पाङ्ग्रे सवारीसाधनका लागि यो बाटो बन्द भएको छ । पुल चुँडिनुअघि महाकाली नदीमा पानीको बहाव उच्च बिन्दुमा पुगेको थियो। शुक्रबारदेखि आइतबारसम्म भएको निरन्तर वर्षाका कारण महाकालीमा पानीको बहाव बढेको थियो। 

नेपाल-भारतको पश्चिमी सीमा नाका गड्डाचौकी-बनबासास्थित शारदा ब्यारेजको तथ्याङ्कअनुसार शनिबार साँझ नदीको बहाव एक लाख क्युसेक नाघेको थियो । आइतबार दिउँसो २ बजे बहाव एक लाख ७७ हजार ९ सय २ क्यूसेक पुगेको थियो । 

त्यसपछि भने नदीको बहाव क्रमिक रूपमा घटेको छ । बुधबारसम्म महाकालीमा पानीको बहाव करिब ५५ हजार क्यूसेक आसपास रहेको थियो । पानीको बहाव उच्च भएका बेला पुलको पिलरमा नदीको तीव्र बहावले धक्का दिएको र त्यसकै प्रभावले पिलर ढलेर पुल चुँडिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

यद्यपि, पुल क्षतिग्रस्त हुनुको वास्तविक कारण भने प्राविधिक अध्ययनपछि मात्रै यकिन हुनेछ । विसं २०५८ सालमा निर्माण भएको यो झोलुङ्गे पुल एक हजार चार सय ५२ मिटर लामो छ । केही वर्ष अघिसम्म एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित यो संरचनाले दोधारा चाँदनीका बासिन्दालाई जिल्लाको मूल भूभागसँग जोड्दै आएको थियो । 

पुल निर्माण हुनुअघि दोधारा चाँदनीका बासिन्दालाई नेपालकै अन्य भूभागमा आउजाउ गर्नसमेत कठिन थियो । कतिपय अवस्थामा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुल बनेपछि भने स्थानीयको शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिक आवागमन सहज भएको थियो ।

अढाइ दशकभन्दा लामो समयदेखि प्रयोगमा रहेको पुलमा नियमित मर्मत सम्भार हुन नसक्दा संरचनामा असर परेको हुनसक्ने स्थानीयको भनाइ छ । तर, पुलको क्षतिको कारण र मर्मत गर्नुपर्ने अवस्थाबारे प्राविधिक अध्ययन हुन बाँकी छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार पुल चुँडिएको अवस्थाका फोटो तथा भिडियो झोलुङ्गे पुल मर्मत शाखामा पठाइसकिएको छ । 

प्रदेशको प्राविधिक टोलीले समेत घटनास्थलमा पुगेर स्थलगत अवलोकन गरेको छ । सङ्घीय सरकार मातहतका सम्बन्धित निकायलाई पनि जानकारी गराइएको प्रशासनले जनाएको छ । दुई दशक लामो समयसम्म दोधाराचाँदनी आवतजावत गर्ने नागरिकका लागि मुख्य मार्ग बनेको यो झोलुङ्गे पुलकै करिब एक किलोमिटर उत्तरतर्फ महाकाली नदीमाथि हालै निर्माण गरिएको चार लेनको पक्की मोटरेबल पुल सञ्चालनमा छ । 

त्यसैले दोधाराचाँदनी र महेन्द्रनगरबीचको मुख्य सवारी आवागमनमा ठूलो समस्या भने परेको छैन । तर, पैदल यात्री र दुई पाङ्ग्रे सवारीसाधनका लागि बढी प्रभावकारी यो झोलुङ्गे पुल चुँडिएपछि भने सङ्कट उत्पन्न भएको छ । यसका अतिरिक्त ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको यो पुल हेर्न दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ पुग्ने गर्दथे । 

अब यो चुँडिएको दोधाराचाँदनी झोलुङ्गे पुल कहिले र कसरी मर्मत भएर सञ्चालनमा आउँछ भन्नेमा धेरैको चासो छ । महाकाली नदीको यही बहावमाथि अढाइ दशकदेखि उभिएको यो झोलुङ्गे पुल अहिले चुँडिएको छ । पुलको क्षतिग्रस्त संरचनाले तत्काल मर्मतको आवश्यकता देखाएको छ भने प्राविधिक अध्ययनले यसको वास्तविक कारण र मर्मतको प्रक्रिया टुङ्गो लगाउनेछ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।