
काठमाडौं । कुखुरापालन गर्दै आएका व्यवसायी विस्थापित हुन थालेपछि सरकारले आफ्नो नीति नै पुनरवलोकनको तयारी थालेको छ ।
पोल्ट्री व्यवसायको उत्पादन लागत कम गर्न भन्दै सरकारले मकै तथा भटमासजस्ता कुखुराको दानाका कच्चा पदार्थमा लाग्ने भन्सार महसुल घटाउन लागेको हो । आत्मनिर्भर भइसकेको व्यवसायलाई टिकाउन कच्चा पदार्थमा छुट दिनेदेखि स्वदेशमै कच्चा उत्पादनसम्मको प्याकेज ल्याउन लागिएको पशुसेवा विभागका महानिर्देशक उमेश दाहालले जनाए ।
यता व्यवसायीले भने सरकारको अस्थिर नीतिका कारण व्यवसाय संकटोन्मुख भएको गुनासो गरेका छन् । उनीहरुले कुखुराको दानामा चाहिने मुख्य कच्चा पदार्थ मकै र भटमास आयात गर्दा लाग्ने भन्सार महसुल घटाउन माग गर्दै आएका छन् । चालु आर्थिक वर्ष सरकारले मकैमा ५ प्रतिशत र भटमासमा ९ प्रतिशत भन्सार महसुल लिँदै आएको छ ।
कुखुराको अवैध आयातले पोल्ट्री व्यवसाय संकटमा (रिपोर्ट)
सरकारले तीन वर्षअघि पोल्ट्री व्यवसायमा आत्मनिर्भर भएको घोषणा गरेको थियो । तर त्यसयता नीति परिवर्तन भइरहँदा यो क्षेत्र अहिले संकटमा परेको हो । सरकारको अस्थिर नीतिकै कारण पछिल्ला तीन वर्षमा २३३ ह्याचरी उद्योग विस्थापित भएको नेपाल पोल्ट्री महासंघकको तथ्यांक छ ।
अहिले देशभर यस्ता उद्योग १२१ वटा मात्र सञ्चालनमा छन् । चल्ला उत्पादन गर्ने उद्योग नै बन्द हुनुले कुखुरापालक किसान घटेको व्यवसायीको भनाइ छ । दर्तामा नआएका साना पोल्ट्री व्यवसायी पनि धमाधम विस्थापित भएको व्यवसायीहरु बताउँछन् । पोल्ट्री व्यवसायमा करिब तीन खर्बको लगानी छ भने ५ लाखले प्रत्यक्ष रोजगारी पाएको व्यवसायीहरुको भनाइ छ ।