माटोमा बढ्‍यो अम्लीयपन, सरकारसँग छैनन् सुधारका योजना

मंसिर १९, २०८० |सुमन पन्थ
माटोमा बढ्‍यो अम्लीयपन, सरकारसँग छैनन् सुधारका योजना

काठमाडौं । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ आज नेपालमा १० औँ राष्ट्रिय माटो दिवस मनाइएको छ । तर, माटोका स्वच्छता कायम गर्ने चुनौती थपिएको छ । वैज्ञानिकहरूका अनुसार नेपालको माटोमा ६६ प्रतिशत अम्लीयपन बढेको छ । तर माटो सुधारका ठोस योजना भने तीनै तहका सरकारसँग छैन ।

कृषि वैज्ञानिकहरूका अनुसार नेपालको ६६ प्रतिशत माटोमा अम्लीयपन, २९ प्रतिशत तटस्थ र ५ प्रतिशतमा क्षारीयपन छ । माटोमा अम्लीयपन बढी हुँदा उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन । जनसङ्ख्याअनुसार उत्पादन बढ्न नसकेर खाद्य सुरक्षाको चुनौती भोग्नुपरे पनि किसानको घर आँगनमा अझै सहजै माटो परीक्षणको व्यवस्था हुन सकेको छैन । 

कृषि वैज्ञानिकहरुले माटो बिग्रनुको मुख्य कारण रासायनिक मलको बढ्दो प्रयोगलाई मानेका छन् । प्राङ्गारिक मलको घट्दो प्रयोग र असन्तुलित रूपमा प्रयोग भइरहेको रासायनिक मलका कारण माटोमा अम्लीयपन  बढेको हो । अन्न भण्डार मानिने मधेश र कोशी प्रदेशको खेतीयोग्य माटोमै प्राङ्गारिक पदार्थमा कमी आएको छ भने उत्पादनलाई नै असर पर्ने अम्लीयपन बढेको छ । माटोको उपचार नगरिए खाद्य सुरक्षामै असर पुर्‍याउने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

भविष्यको खाद्य सुरक्षाका लागि माटो स्वच्छतामा लगानी गर्नुपर्नेमा विश्वव्यापी बहस नै चलिरहेको छ । यसै पनि उत्पादन र उत्पादकत्व कमी रहेको हाम्रो देशमा सहज माटो परीक्षणको व्यवस्था छैन । सरकारले सातै प्रदेशका एक सय पालिकामा माटो परीक्षणको मिनी ल्याब नै सञ्चालनमा ल्याएको दाबी गरे पनि प्रभावकारी हुन सकेको छैन । 

नेपाल कृषि अनुसन्धान परिषद् नार्क, संयुक्त राष्ट्र संघको खाद्य संगठनले गरेको अध्ययनले माटोका उपचार गर्न सके ५८ प्रतिशत उत्पादन बढाउन सकिने देखाएको छ । तर त्यसका लागि तीनै तहका सरकारले समन्वयकारी भूमिका निर्वाह गरेका छैनन् ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।