फ्लुमिनेन्स फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश

असार २१, २०८२ |खेल ब्युरो
फ्लुमिनेन्स फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । गए राति सम्पन्न खेलमा साउदी अरबको अल-हिलाललाई २-१ ले हराउदै फ्लुमिनेन्सले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलको ४०औं मिनेटमा १६ यार्ड बाहिरबाट गेब्रियलको पासमा माथेउस मार्टिनेलीले उत्कृष्ट प्रहार गर्दै फ्लुमिनेसलाई सुरुवाती अग्रता दिलाए । अल-हिलालले एकपटक पेनाल्टी पाए पनि भीएआरले उक्त निर्णय उल्टाएको थियो ।

५१औं मिनेटमा मार्कोस लियोनार्डोले अल हिलालका लागि बराबरी गोल गरे । जारी प्रतियोगितामा उनको यो चौथो गोल थियो ।

खेलको निर्णायक गोल भने फ्लुमिनेन्सका हर्कुलेसले गरे । ७०औं मिनेटमा उनले जेभियरको हेडरबाट आएको बललाई पोस्टको दिशा दिएका थिए । अन्त्यतिर अल-हिलालले दबाब सिर्जना गरे पनि बराबरी गोल निकाल्न सकेन ।

अब फ्लुमिनेन्सले फाइनल प्रवेशका लागि मंगलबार राति न्यू जर्सीमा चेल्सी वा पामेइराससँग प्रतिस्पर्धा गर्नेछ ।