मधेश प्रदेश सभाबाट बजेट पारित गराउने विषयमा विवाद, बजेटमाथि छलफल चलाउनुको साटो पुस्तिका वितरण गरेर सभा स्थगित

असार २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेश सभाबाट बजेट पारित गराउने विषयमा विवाद, बजेटमाथि छलफल चलाउनुको साटो पुस्तिका वितरण गरेर सभा स्थगित
जनकपुर । मधेश प्रदेशमा बजेट प्रदेश सभाबाट पारित गराउने विषयमा विवाद हुँदै आएको छ । सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूमा बजेट प्रति देखिएको चरम असन्तुष्टि र आक्रोशका कारण बजेटमाथि छलफल गराउनको साटो बजेट पुस्तिका वितरणपछि स्थगित प्रदेशसभाको बैठक अझै बोलाइएको छैन् ।

मधेश प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जनमत र लोसपाको संयुक्त सरकार छ । जनमतका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट अर्थमन्त्री रहनु भएका सुनिलकुमार यादवले प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको तीन साता हुन लागेको छ । तर, चार वटा दल मिलेर बनेको बलियो सरकारले प्रदेशसभामा बजेट माथि छलफल नै सुरू गराउन सकेको छैन् । 

बजेट बक्तव्यमाथि छलफलका लागि प्रदेश सभाले गएको ११ गते बोलाएको बैठकमा प्रदेश सदस्यहरूलाई अध्ययनका लागि बजेट पुस्तिका उपल्बध गराएको थियो । तर, सोचे अनुसारको आफ्नो निर्बाचन क्षेत्रमा योजनहरू नपरेको देखेर सत्तापक्ष र प्रतिपक्षका सभा सदस्यहरूको व्यापक असंतुष्टी र आक्रोस देखेपछि मुख्यमन्त्री सतिशकुमार सिंहको अनुरोधमा सभामुख रामचन्द्र मण्डलले १२ गते बोलाईएको बैठक नबसी अनिश्चीतकालका लागि स्थगित गर्नुभएको छ ।

४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेट प्रतिपक्ष मात्र नभई सत्तापक्षकै प्रदेश सांसदहरूले आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेट नितान्तरूपमा बितरणमुखी, व्यक्तिवादी र बिचौलियाहरू हाबी भएको रूपमा व्याख्या गर्दै आएका छन् ।

चालु आर्थिक बर्षको बजेट ल्याउने बेलामा पनि गत वर्षको असार महिनामा मधेश प्रदेशसभामा विवाद भएको थियो । सांसद र मन्त्रालयहरूको सिफारिस भन्दा पनि बाहिरबाट अन्य व्यक्तिहरूले अर्थ मन्त्रालयको गोप्य पासवर्ड दुरूपयोग गरी आफू अनुकुलको योजनाहरू रातो किताबमा समावेश गरेको आरोप थियो । 

संसदीय छानबिन समिति गठनलगायतका विषयमा प्रतिपक्ष र सरकारबीचको सहमति अनुसार बजेट पारित भएपनि पासवर्ड दुरूपयोग गर्ने व्यक्तीहरूको न त खोजी भयो न त छानबिन समिति गठनको प्रकृया अगाडि बढयो ।

प्रदेशसभाबाट असार भित्रै बजेट पारित गराउनुका साथै कार्यान्वयनका लागि बिनियोजन बिधेयक पनि पारित गराउनु पर्ने सरकार समक्ष बाध्यात्मक अवस्था छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.