एसीसी पुरूष यू-१६ इस्ट जोन कप : नेपाल र सिङ्गापुरबीचको खेल जारी

उपाधि रक्षा गर्ने नेपालकाे लक्ष्य
असार २१, २०८२ |खेल ब्युरो
एसीसी पुरूष यू-१६ इस्ट जोन कप : नेपाल र सिङ्गापुरबीचको खेल जारी

काठमाडौं । एसीसी पुरूष अन्डर सिक्सटिन इस्ट जोन कपको फाइनलअन्तर्गत अहिले नेपाल र सिङ्गापुरका युवा टोलीबीचको खेल जारी छ ।

मलेसियाको बाङ्गीस्थित वाई-एस-डी यूके-एम ओभलमा सिङ्गापुरले टस जितेर ब्याटिङ्ग रोजेपछि नेपालले बलिङ्ग गर्दैछ । साबिक विजेता नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ ।

सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको थियो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले १२औं ओभरमा केवल १ विकेट गुमाएर पूरा गरेको थियो ।

यता सिङ्गापुरले हङकङलाई ४ विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको थियो । दुवै टोली समूह ‘ए’ बाट सेमिफाइनल प्रवेश गरेका थिए । नेपाल शतप्रतिशत नतिजासहित समूह विजेता बनेको थियो । 

समूह चरणमा सिङ्गापुर नेपालसँग ६ विकेटले पराजित भएको थियो । उपाधि भिडन्तमा सिङ्गापुर सोही हारको बदला लिने लक्ष्यमा हुनेछ । विपिन शर्माको कप्तानीमा रहेको नेपालले प्रतियोगितामा शानदार प्रदर्शन गरिरहेको छ । प्रत्येक खेलमा फरक-फरक खेलाडी नायक बनेका छन् ।

रौनक श्रीवास्तव जारी प्रतियोगिताका सर्वाधिक रनकर्ता समेत हुन् । उनले १ शतक र १ अर्धशतक प्रहार गरेका छन् । यस्तै प्रशिद्ध जैशी, परिमार्जन यादव, शिवांश बजगाईं र जोय थापाले पनि सानदार ब्याटिङ गरेका छन् ।

बलिङतर्फ विपिन सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् । शुभम खनाल, अभय यादव र सचिन भट्टले समेत प्रभावशाली बलिङ गरेका छन् । अहिले मलेसिया र हङकङ तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।