धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले बाग्मती प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८२/८३ को लागी पेस गरेको बजेटकाविरूद्ध नगरसभाबाट खेद प्रस्ताव पारित गरेको छ ।
नीलकण्ठ नगरपालिकाको १७औं नगरसभाको दोस्रो वैठकमा नगर प्रमुख भिमप्रसाद ढ्ङ्गानाले पेस गर्नुभएको खेद प्रस्ताव सर्व सहमतिले पास गरिएकाे हाे ।
बाग्मती प्रदेश सरकारद्वारा प्रस्तुत बजेट, प्रदेशको समग्र सन्तुलित विकास एवं संघीयताको मूल मर्म विपरित, व्यक्ति र पहुँच केन्द्रीत तथा अनुत्पादक र असन्तुलित देखिएकोले बजेट परिमार्जनका लागि नगरसभाले गम्भीर ध्यानाकर्षण भएको बताउँदै खेद व्यक्त गरेको हो ।
खेद प्रस्तावमा संघीय शासन प्रणालीको मूल मर्म समावेशिता, क्षेत्रीय सन्तुलन र समान अवसरलाई कमजोर पार्ने ढाँचामा बजेट निर्माण हुनु अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको उल्लेख गर्दै प्रदेशको नीति तथा दोस्रो आवधिक योजनाले लक्षित गरेका क्षेत्रहरूलाई पनि बेवास्ता गर्दै गाउँपालिका र नगरपिलकाहरूबाट प्रस्ताव गरिएका योजनाहरूमा पूर्णतः बेवास्ता गरिएको देखिएकोले यो कार्य संघीयताको मर्ममाथिको ठाडो प्रहार भएको ठहर गरेको छ ।
सभाले असन्तुलित र व्यक्ति र जिल्ला केन्द्रित बजेटप्रति गम्भीर आपत्ति प्रकट गर्दै, संवैधानिक मूल्य र समान विकासका सिद्धान्तहरूको पालना हुनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउनुको साथै आगामी दिनमा नीति निर्माण एवं बजेटमा पारदर्शिता, समावेशिता, र न्यायपूर्ण वितरणको प्रत्याभूति गर्न आग्रह समेत गरेको छ ।