काठमाडौं । एसीसी पुरूष अन्डर १६ इस्ट जोन कपको फाइनदलमा सिङ्गापुरले नेपाल सामु १ सय १४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुरले ४० ओभर ५ मा सबै विकेट गुमाएर १ सय १३ रनमात्र बनाउन सक्यो ।
इनिङ्सको दोस्रो बलमै आहान बुथान्दमलाई डकआउटमा गुमाएको सिङ्गापुरका लागी रोहन अस्टिन अरूणले सर्वाधिक २३ रनको योगदान दिए । कप्तान रियान नाइकले १५ बनाए ।
अन्तिम विकेटका रूपमा आकाश तेजा र वेदांश गुप्ताले २५ रनको साझेदारी गरेपछि सिङ्गापुरले १ सय रनको आकडा पार गरेको थियो । आकाश १० रनमा आउट भए । वेदांश १२ रनमा अविजित रहे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाएन सकेनन् ।
सिङ्गापुरलाई रोक्न नेपालका लागी सुसिल रावल र अभय यादवले समान ३–३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान विपिन शर्माले १ विकेट लिए ।