के हो ‘नेप्से थर्टी’, किन ल्याउँदै नेप्से ?

आश्विन १, २०८० |सुदिल पोखरेल
के हो ‘नेप्से थर्टी’, किन ल्याउँदै नेप्से ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेयरबजारको वास्तविक उतारचढाव देखाउने गरी नयाँ इन्डेक्स ‘नेप्से थर्टी’ सार्वजनिक गर्न लागेको छ । सञ्चालक समितिले गत जेठ २५ मा सूचकांक विकास तथा सञ्चालनसम्बन्धी कार्यविधि पास गरिसकेकाले असोजभित्रै नयाँ इन्डेक्स आउने नेप्सेले बताएको छ ।

अहिले नेपाल स्टक एक्सचेन्जमा १७ वटा इन्डेक्स छन् । नेप्से इन्डेक्सले समग्र बजार र सेन्सेटिभ इन्डेक्सले ‘क’ वर्गका कम्पनीको कारोबारको अवस्था देखाउने गरेको छ । यसबाहेक १३ वटाले क्षेत्रगत कम्पनीका सेयरको कारोबार देखाउने र अन्य दुई फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्सले सर्वसाधारणले सेयर खरिद गरेको कारोबारको अवस्था देखाउने गरेका छन् ।

नेप्सेले बजारको वास्तविक अवस्था देखाउन नसकेको भनि आलोचना भएपछि ३० वटा कम्पनीको कारोबारको अवस्था देखाउने गरि ‘नेप्से थर्टी’ इन्डेक्स सार्वजनिक गर्ने तयारी गरेको नेप्सेको भनाइ छ ।

यसको कामबारे नेपाल स्टक एक्सचेन्ज प्रवक्ता मुराहरि पराजुली भन्छन्, ‘यसले इन्डेक्सै काम गर्छ, भविष्यमा चाहिँ हामीले नेप्से थर्टीलाई नै किनबेच गर्न सक्छौं ।’

तर अहिलेसम्म इन्डेक्स कारोबारका लागि कानुनी बाटो नखुलेकाले यसका लागि समय लाग्ने नेप्सेले प्रवक्ता पराजुलीले जानकारी दिए ।

तीन वर्ष नाफामा रहेको, २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको र पछिल्लो ६ महिनामा ७५ प्रतिशत दिनमा कारोबार भएको कम्पनीमात्रै यसमा सूचीकृत हुन पाउने प्रवक्ता पराजुली बताउँछन् ।

नेप्सेले यसै इन्डेक्सलाई बजारमा नयाँ उपकरणको रुपमा विकास गर्न खोजेको छ । अर्थात् अहिले सेयरको किनबेच भएजस्तै यही इन्डेक्सको करारपत्र पनि कारोबार गराउने योजना नेप्सेले बनाएको छ ।

यो इन्डेक्स पछि लगानीकर्ता तथा म्युच्युल फन्डलाई लगानीका लागि कम्पनी छनोट गर्न पनि सहज बताइएको छ । 

Enter Kantipur TV HD
Advertisement