दिगो विकास लक्ष्य हासिल गर्न चुनौती, ८ वर्षमा २३ प्रतिशत मात्र प्रगति

भाद्र २५, २०८० |सुमन पन्थ
दिगो विकास लक्ष्य हासिल गर्न चुनौती, ८ वर्षमा २३ प्रतिशत मात्र प्रगति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणका क्रममा नेपालले दिगो विकास लक्ष्यमा हासिल गरेका उपलब्धि र भोग्नुपरेका चुनौती विश्वमञ्चमा राख्दै छन् । सन् २०३० भित्र विश्वबाटै गरिबी र भोकमरी अन्त्य गर्ने साझा संकल्पमा नेपालको प्रगति भने औसत छ । नेपालले लक्ष्य प्राप्त गर्न अझै धेरै चुनौती छन् । सबैभन्दा ठूलो चुनौती त रोजगारीका नयाँ अवसर सिर्जना गर्न स्रोतको खोजी गर्नुपर्ने देखिएको छ ।

विश्वबाट सबै प्रकारका गरिबी र भोकमरी अन्त्य, स्वस्थ जीवन र सबै उमेर समूहको प्रवर्द्धन, लैंगिक समानता, गुणस्तरीय शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रलाई समेट्न दिगो विकासको लक्ष्य लिइएको हो । तर अहिले पनि नेपालको मात्र नभएर विश्वकै अवस्था सन्तोषजनक छैन । सन् २०१५ देखि दिगो लक्ष्य हासिलको लक्ष्य लिए पनि आधा समय सकिँदासम्म सबै सूचकमा १२ प्रतिशत मात्र लक्ष्य प्राप्त भएको सहसचिव प्रकाश दाहालको भनाइ छ ।

‘मूल्यांकन गर्दा विश्वव्यापी रुपमा १२ प्रतिशत लक्ष्यहरु मात्रै सकारात्मक दिशामा छन्,’ उनले भने, ‘यसको अर्थ के हो भने संयुक्त राष्ट्रसंघको महासचिवको सन् २०२३ को प्रतिवेदनले दिगो विकास लक्ष्य जोखिममा छन् । तिनीहरुको उद्धार गर्नुपर्छ ।’

संयुक्त राष्ट्रसंघका अनुसार चरम गरिबीमा बाँचिरहेका मानिस चार वर्षअघिको तुलनामा धेरै छन् । भोकमरी सन् २००५ कै अवस्थामा पुगेको छ । लैंगिक समानता न झन् तीन सय वर्षपछि धकेलिएको छ । कोरोना महामारीका कारण लक्ष्य प्राप्तिमा कठिनाइ देखिएको हो ।

विश्वको तुलनामा नेपालको प्रगति औसतमा करिब २३ प्रतिशत छ । दुई करोडभन्दा धेरै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, १० लाख बेरोजगारलाई रोजगारी दिने, जलवायु परिवर्तनबाट बिग्रिएको खाद्य प्रणाली सुधार गर्नु हाम्रा लागि चुनौती बनेका छन् । यी समस्या समाधानका लागि वार्षिक २० खर्बभन्दा धेरैको लगानी आवश्यक छ ।

अहिले हाम्रो कमजोर भनेको वैदेशिक लगानी धेरै हुन नसक्नु रहेको अर्थशास्त्री डा. मधुसूदन भट्टराईको भनाइ छ । उनको सुझाव छ, ‘हामीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक देखिन्छ ।’ उनले रोजगारी सिर्जनामा बढी ध्यान दिनुपर्ने आवश्यकतासमेत औंल्याए ।

नेपालले सामाजिक क्षेत्रको प्रगति भने राम्रो गरेको छ । मातृ मुत्युदर, स्कुल भर्ना, राजनीतिमा महिला सहभागिता जस्ता विषयमा नेपालले उल्लेख्य सफलता हासिल गरेको छ । दिगो विकासका लक्ष्य प्राप्तिमा विश्वको औसत उपलब्धि १२ प्रतिशत छ । ५० प्रतिशत लक्ष्यको प्रगति सुस्त छ । ३० प्रतिशत लक्ष्यको प्रगति त शून्य वा नकारात्मक छ । गरिबी र भोकमरी अन्त्य गर्ने मुख्य लक्ष्य त झन् खराब अवस्थामा पुगेको छ ।

यही गति कायम रहने हो भने सन् २०३० सम्म एकतिहाइ मुलुकले मात्र गरिबीलाई आधाले कम गर्न सक्नेछन् । सन् २०१९ मा खाद्य असुरक्षामा रहेका मानिसको संख्या ३९ करोड रहेकामा २०२२ मा यो संख्या करिब दुई अर्ब चार करोड पुगेको छ ।

दिगो विकासका लक्ष्य हासिल कठिनाइ भइरहेका बेला संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल स्रोत जुटाउन बहुपक्षीय दाताहरुसँग कसरी प्रस्तुत हुन्छन् भन्ने चासोको विषय बनेको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement