नेपाल र भारतबीच दुई पक्षीय व्यापारमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने सहमति

पुस २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल र भारतबीच दुई पक्षीय व्यापारमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल र भारतले दुई पक्षीय व्यापारमा देखिएका समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा भएको नेपाल-भारत वाणिज्य सचिवस्तरीय दुई दिने बैठकमा यस्तो प्रतिबद्धता जनाएका हुन् । बैठकमा भएका सहमतिलाई दुवै मुलुकका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ ।

बैठकमा नेपालमा उत्पादित वस्तुहरु भारतमा निकासी गर्न आवश्यक पर्ने ब्युरो अफ इन्डियन स्टान्डर्ड-बीआईएस प्रमाणपत्र प्राप्तिको प्रक्रियालाई छिटो-छरितो बनाउन दुवै मुलुकका अधिकारीहरु सहमत भएका छन् । बैठकमा वस्तुको निर्यात तथा आयातमा सहजीकरण गर्ने विषयमा समेत सहमति भएको छ ।

नेपाली अधिकारीहरुले सिमेन्ट, स्यानेटरी प्याड, जुत्ताजस्ता वस्तुको निर्यात सहज हुने दाबी गरेका छन् । त्यस्तै नेपालमा निर्माण भइरहेका आयोजनामा आवश्यक पर्ने उपकरण तथा अन्य सामग्रीको आयातलाई सहजीकरण गर्न भारत सकारात्मक भएको छ । अन्तरसरकारी समितिको बैठकमा नेपालको प्रयोगशालाले प्रमाणित गरेका वस्तुलाई मान्यता दिन नेपाल सरकारले गरेको आग्रहमा भारत सकारात्मक देखिएको छ ।

नेपालको गुणस्तर तथा नापतौल विभाग र भारतको बीआईएस तथा नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण र भारतको फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटीबीच पारस्परिक सहयोग अभिवृद्धि गरी वस्तुको गुणस्तर निर्धारण तथा परीक्षण, प्रमाणीकरण र पारस्पारिक मान्यताको प्रक्रिया अगाडि बढाउने भनिएको छ । 

औषधिको आयात निर्यातलाई व्यवस्थित गर्ने, भन्सार प्रक्रियालाई सहजीकरण गर्ने, तथा दुवै पक्षका विषयगत संयन्त्रमार्फत उठेका विषयलाई समयमै समयमै सुल्झाउने विषयमा पनि सहमति भएको छ । वैठकमा दुबै पक्षको सहमतिमा तयार भएका व्यापार तथा पारवहन सन्धि र अनधिकृत व्यापार नियन्त्रण सम्झौता अन्तर्गतका विषयमा छलफल भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement