काठमाडौं । इजरायलले गाजामा फेरि आक्रमण तीव्र पारेको छ । उत्तरी गाजामा भएको पछिल्लो आक्रमणमा दुई बालकसहित ८ जना मारिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविराम वार्ता अघि बढाउन कतारमा उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएकै दिन सेनाले गाजाका स्कुल र घरहरुमा आक्रमण गरेको बताइएको छ । उत्तरी गाजामा विस्थापित प्यालेस्टाइनीहरुको आश्रयस्थल रहेको स्कुलमा इजरायलले गरेको आक्रमणमा परी कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ ।
नयाँ सिराबाट युद्धविराम गरिनुपर्ने दबाबबीच उत्तरी गाजाको जबालिया अल बलाद क्षेत्रमा जैनब अल वजीर स्कुलमा एक इजरायली आक्रमणमा दुई महिला र दुई बच्चासहित आठ नागरिक मारिएका हुन् । यसरी आक्रमण हुँदै गर्दा इजरायलले सम्भावित युद्धविरामको कुराकानीका लागि कयौँ बरिष्ठ अधिकारीलाई कतार पठाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्यालेस्टाइनी समाचार एजेन्सी वफाले गाजाभर विभिन्न स्थानमा हमला भइरहेको सूचना दिएको छ । गाजाको छिमेकी शहर दाराजमा एक घरमा भएको आक्रमणमा चार जना प्यालेस्टाइनी मारिएका र कयौँ घाइते भएका बताइएको छ ।