काठमाडौं । डिफेन्डिङ च्यम्पियन अल हिलाल साउदी प्रो लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा अल ओरोबालाई ५-० ले पराजित गर्दै अल हिलाल शीर्ष स्थानमा उक्लिएको हो ।
अल हिलालले अल इत्तिहादलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा कब्जा जमाएको हो । अल हिलालले कप्तान सलेम अल दवासारी र शीर्ष स्कोरर अलेक्सान्डर मित्रोभिक बिना खेल सुरु गरेको थियो । दुबै खेलाडी चोटका कारण सुरुवाती ११ मा अटएका थिएनन् ।
विङ्गर मोहम्मद अल काहतानीलाई बक्स भित्र फाउल गरिएपछि १६ औं मिनेटमा अल हिलालले पेनाल्टीको अवसर पाउको थियो । रुबेन नेभेसले पेनाल्टीलाई रूपान्तरण गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको सरुवातमै अली अल बुलाहीले साविकको क्रसमा हेडर गओल गरे ।
६८ औं मिनेटमा एटलेटिको म्याड्रिडका पूर्वडिफेन्डर रेनान लोडीले ब्राजिलियन खेलाडी माल्कमको क्रसलाई पोस्टको दिशा दिएपछि अल हिलालले ३-० को अग्रता बनायो । मित्रोभिकको स्थानमा टिममा परेका मार्कोस लियोनार्डोले ३ मिनेटको अन्तरालमा २ गोल गरेपछि अल हिलालले ५-० को फराकिलो जित सुरक्षित गर्यो । उनले ७५ औं र ७८ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै १४ खेलमा ३७ अंक जोडेको हिलाल शीर्ष स्गानमा पुगेको छ । समान ३७ अंक नै रहे पनि इत्तिहाद गोल अन्तरमा पछि रहेकाले दोस्रो स्थानमा झर्यो । नयाँ मुख्य प्रशिक्षक अदनान हमाद अलको नेतृत्वमा ओरोबाले खास प्रदर्शन गर्न सकेन । उ १४ खेलमा १३ अंकसहित १४ औं स्थानमा छ ।