काठमाडौं । लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदान एनफिल्डमा गएराति सम्पन्न खेलमा एक्रिंग्टन स्टेनलीमाथि ४-० को जित हात पार्दै लिभरपुलले चौथो चरणमा स्थान सुरक्षित गरेको हो ।
टोटनहमसँग बुधबार भएको काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा सिजनको दोस्रो हार बेहोरेको लिभरपुलले लिग टु टोलीविरुद्ध भने सहज जित हात पार्यो । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलका लागि डार्विन नुनेजले २९ औं मिनेटमा पहिलो गोल गरे । ट्रेन्ट अलेक्ज्यान्डर-अर्नोल्डले हाफ टाइमभन्दा ठीक अघि गोल गर्दा मध्यान्तर सम्म लिभरपुलले २-० को अग्रता बनायो । अर्नोल्डले पेनाल्टी क्षेत्रको किनारबाट टप कर्नरमा सानदार गोल गरेका थिए ।
७६ औं मिनेटमा वैकल्पिक खेलाडी जेडेन ड्यान्सले रिबाउन्डमा आएको बलमा गोल गर्दै लिभरपुललाई ३-० ले अघि बढाए । ड्यान्स १६ वर्षीय खेलाडी रियो न्गुमोहाको स्थानमा मैदान प्रवेश गरेका थिए । न्गुमोहाका लागि यो डेब्यू खेल थियो ।
फेडेरिको चियासाले ९० औं मिनेटमा गोल गर्दै लिभरपुललाई ४-० को फराकिलो जित दिलाउन सहयोग गरे । आर्ने स्लटको टोलीले आर्सनल र म्यानचेस्टर युनाइटेडबीच आज राति हुने खेलको विजेतासँग चौथो चरणमा प्रतिस्पर्धा गर्नेछ । यसबाहेक नटिङघम फरेस्ट, चेल्सी, बर्नमथ, ब्राइटन, बर्नली र लिड्स युनाइटेड पनि एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् ।