सपनामै बाले फेरि बोलाउनु होला कि- ‘कान्छा...’

भाद्र १७, २०८१ |अवतार राई
सपनामै बाले फेरि बोलाउनु होला कि- ‘कान्छा...’

माघे घाम तापिरहेका बेला अनायास पछाडिबाट आवाज आयो, ‘कान्छा’ !

फर्किएर हेरेँ । आधा कपाल फुलेको, खरानी रङको कमिज, आकासे रङको सुरुवाल, गोल्डस्टार जुत्ता, उनीको झोला भिरेको र हातमा चरा आकारको लौरो टेकेर उभिएका थिए– बा । ओहो, अचानक धेरैपछि आज बा घरको आँगनीमा परदेशीझैं उभिनुभएको थियो तर खुसी हुनुको साटो झनक्क रिस उठेर आयो । यतिका दिन मानसपटलबाटै हराउन लाग्दा झुल्किएका बा देखेर बोल्न मन लागेन ।

सम्झिएँ, हामीहरु सबै भएर पनि आमा बाबिनाको एक्लो हुनुहुन्छ । दुःखसुखका गफ गर्ने जीवनसाथी गायब भएका थिए । भदौरे घाममा एक बर्खाका लागि सुकाएको सुर्ती र भोर्लाको पात सकाउन आमालाई साथ दिने कोही थिए । बिहान ४ बजे उठेर काम गर्न खोज्दा टर्चलाइट बालिदिनेको अभाव आमाले वर्षौं भोग्नुभयो र भोगिरहनुभएको छ । दुर्घटनापछि धेरै हिँडडुल गर्न नसक्ने आमालाई यताउता डोहोर्‍याइरहने साथीको अभाव भयो ।

यतिका अभाव महसुस गराउनकै लागि त यतिका वर्ष हराएको होला नि ? पछाडि उभिरहेका बालाई देखेर रिस थपिँदै गयो । र, सोध्न मन लाग्यो– ‘कहाँ जानुभएको थियो बा ?’ यति प्रश्न मनमा के उब्जेको थियो, झसङ्ग बिउँझिएछु ।

रातले सायद बिहान खोजिरहेको थियो । सिरानी छेउमा मोबाइल खोजेँ र हेरेँ बिहानको ४ बज्न लागेको रहेछ । ओहो, बा बितेको आधा दशकपछि पहिलोपटक सपनामा देखेँ । खासमा घरमा आफ्नै शुभलगनको काम सकाउनका लागि झन्डै आधा महिनाको बिदा लिएर काठमाडौंबाट भोजपुर घर गएको थिएँ । र विवाहको कार्जेको तयारीमा थिएँ म ।

म आध्यात्मभन्दा भौतिक दुनियाँलाई विश्वास गर्छु र निदाएका बेला देखिएका सपनाभन्दा बिउँझिएर देखेको सपनाको पछि निरन्तर दौडिरहन्छु । तर, सपनाबाट एकाएक बिउँझिएपछि लाग्यो मेरै वरिपरि बा कतै डुलिरहनुभएको छ । म यतिबेला हतासमा छु, हतारमा छु र घरिघरि अत्यासमा पनि छु । यस्तै मेसोमा बा मलाई ढाडस दिन सपनामा आउनुभयो । किनकि घरमा हुन लागेको कार्जे मेरा बाको पनि सपनाको एउटा कार्जे थियो ।

...

बा-आमाका हामी सात जना छोराछोरीमा सबैको बिहे भइसकेको थियो । कान्छो छोराको बिहे हेर्ने उत्कट चाहाना बोकेर बस्नु भएको थियो- बा । त्यसैले त घरमा पालेको सुँगुरलाई कान्छाको बिहेका लागि भनेर सुम्सुम्याइरहनुहुन्थ्यो- बा । घरमा पालेको पाडोलाई सिपिक्क बनाएर घाँस खुवाइरहनुहुन्थ्यो र घरमा आएकाहरुसँग भनेको सुन्थे, ‘कान्छाको बिहेलाई यसले धान्ने बनाउनु छ ।’

थुप्रै पटक घरका सुँगुरहरु, पाडोहरु थेग्न नसकेपछि कति बजारमा बिक्रीका लागि लगिए त कति गाउँमै मोलमोलाइमा सकाइयो । रित्तिएको खोर र गोठमा फेरि आउथे नयाँ सुँगुर र पाडो । बाले सुरुमै भनिहाल्नुहुन्थ्यो, ‘यो त कान्छाको बिहेका लागि है आमा चैँ ।’

बालाई घरमा बनाएको रक्सी र जाँड बिहान–दिउँसो–बेलुकै पिइरहनुपर्ने । चिया, खाजा तथा खानाको समयमा पिउने आदत थियो । खासै दुःखबिराम भएको पनि पत्ता पाइनँ । कहिलेकाहीँ बिरामी भएको थाहा पाउँदा घरायसी उपचारकै विधि अपनाउनुहुन्थ्यो र चाडै ठीक पनि हुन्थ्यो । र, अस्पतालले सिफारिस गरेका औषधिहरु उहाँले खाएको मैले थाहा पाइनँ । परिवारका कुनै सदस्य कोही बिरामी परे सकभर घरायसी औषधिहरु नै खोजेर निको पार्ने कोसिस गर्नुहुन्थ्यो ।

एकपटक निकै दिनसम्म खाना-खाजाकै साटो जाँड–रक्सीमा भुलेपछि बा उठ्नै सक्नुभएन । अस्पताल लाने तयारी हुँदै गर्दा फिटिक्कै मान्नु भएन, बरु घस्रिँदै आफैं घरेलु औषधि खोजेर खाएपछि भोलिपल्ट जुरुक्क उठेर सबैलाई देखाउनुभयो । केही दिनमा त फेरि पहिलाकै जस्तै भइगयो ।

गाउँमा मेरा हितैषीहरुको धमाधम बिहे हुन थालेपछि बाले मलाई पनि बिहेको प्रस्ताव गर्न थाल्नुभएको थियो । तर, मैले अध्ययन सकाएर जागिर खाएपछि मात्र बिहे गर्ने भनेपछिका दिनबाट बाले सिधै बिहेको प्रस्ताव मलाई कहिल्यै गर्नु भएन, घुमाउरो पारामा भने गरिरहनुहन्थ्यो ।

स्नातकोत्तर अध्ययन पूरा गर्न राजधानी जाने मेसो मिलाएपछि हिँड्ने बेलामा बाले भन्नुभएको थियो, ‘राम्रो पढ्नू । सोचेको पूरा होस् । यताको चिन्ता नलिनू । तेरो सपना पूरा भयो भने हाम्रो सपना पनि पूरा हुनेछ ।’ उहाँको अप्रत्यक्ष कुरा बिहेसँग पनि सम्बन्धित थियो । मैले मुन्टो हल्लाएर हिँडेको अर्को वर्ष बाले सदाका लागि भौतिक शरीर त्याग्नुभयो ।

...

उज्यालो हुन अझै दुई घन्टा बाँकी थियो । उज्यालो नभई उठेर पनि काम थिएन । तर, सुतेर पनि निद्रा परिरहेको थिएन । बा बितेको ५ वर्षपछि पहिलोपटक सपनामा देखेपछि पुराना स्मृति मनमा सरसर्ती आइरहेका थिए ।

३ छोरा र ४ छोरीको हुर्काइ, बढाइ, पढाइ कम सकसको विषय पक्कै होइन र थिएन । एउटा मध्यम सामान्य जिन्दगीका लागि बा–आमाको अथक मिहिनेत चानचुने पनि थिएन । परिवारको चाहना मैले सरकारी जागिरे खाइदिओस् भन्ने थियो । बा पनि मेरो अगाडि त ‘नराम्रो नगर्नू, आफूलाई मन लाग्ने गर्नू’ भन्नुहुन्थ्यो । तर, आमासँग चाहिँ कान्छो सरकारी अधिकृत भइदिए हुने थियो भन्ने इच्छा राख्नुहुन्थ्यो रे । मैले स्नातक तहकै बेला पत्रकारिताको मेसो समाइसकेकाले खास सरकारी जागिरतर्फको मोह भङ्ग भइसकेको थियो । तर पनि मजस्तै खुसी थिए बा ।

एक बर्खा भदौरो झरी निरन्तर बर्सिरहेको थियो । घरको एकपाटोले थेग्न नसक्ने हो कि भन्ने भान हुन्थ्यो । तर, बाले यो झरी कटेपछि मर्मत गर्ने बताउनुभएको थियो । साँझ सुतिरहेका बेला अनायाश घरको चुलीगारोसँगैको पाटो गर्ल्याम्म ढल्यो । बाकै शयनकक्ष झन्डै–झन्डै भेटेन । हत्तपत्त बा उठेर हामी सुतिरहे ठाउँमा आउनुभयो । साइँली दिदी र म सुतिरहेका थियौं । हामी सबै डरले काप्यौं । बा अत्तालिएको पहिलो पटक देखेँ । यताउता दौडिरहनुभएको थियो । त्यो रात जागै बिताइयो । सामान्य मर्मत गर्नका लागि समेत वर्षाले दिएको थिएन । त्यसैले एकथान पाल टाँगेर त्यो बर्खा कटाइयो । दशैं सकिएर मौसम बदलिएपछि घरको सामान्य मर्मत गरियो । त्यही वर्षको दुःखले अर्को बर्खा आउनुअघि नै बाले छानामा चुहिने टायल फालेर हरियो च्यादर लगाउनुभयो ।

......

काठमाडौं आएपछि अध्ययनसँगै पत्रकारिताकै मेसोमा तल्लीन थिएँ । एक बिहान खबर आयो– बा अचानक बिरामी पर्नुभयो । हस्पिटल र चिकित्सकले सुझाएका औषधिमा कुनै विश्वास नगर्ने बा शरीरलाई धेरै गाह्रो हुँदा समेत अस्पताल नजाने अड्डी कसेर बस्नुभएछ । मैले फोनमा बालाई काठमाडौंका अस्पताल र चिकित्सकहरुबारे जानकारी गराएँ । छिट्टै रोग पत्ता लाग्ने अनि निको हुने समेत बताएँ । तर, लर्बरिएको स्वरमा एउटै जवाफ पटकपटक आइरह्यो, ‘मलाई केही भएको छैन, म ठिक हुन्छु । चिन्ता नलिईकन आफ्नो काम गर् । जहाँ जे छस्, जस्तो छस्, राम्रो गर है कान्छा ।’

जति भने पनि नमान्ने भएपछि बल गरेर नै हस्पिटल ल्याउने तयारी भयो । म यताबाट धरान झर्ने र बालाई छोटो दूरीको ठाउँ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने घरायसी सल्लाह भयो । अनायाश बाले त्यही साँझ सदाका लागि आँखा चिम्लिदिनु भयो । हामीलाई बाबिहीन बनाउनु भयो ।

...

सबैका बाजस्तै मेरा बा मेरा पथप्रदर्शक थिए । मेरा हर खुसीका सारथी थिए । त्यसैले त हरसमय बाको अभाव महसुस गरिरहन्छु । हन्डर–ठक्कर खाँदा बाको अनुहार सम्झिन्छु । अद्भूत खुसी हुँदा होस् वा आफूले अलिकति पनि सफलता हासिल गरेको महसुस हुँदा बाकै अनुहार सम्झिन्छु । त्यसैले त बाले हामीलाई बाविहीन बनाएर भौतिक शरीर त्यागे पनि यतै–कतै हुनुहुन्छ जस्तो लागिरहन्छ । बाले बित्नुअघि भनेको ‘चिन्ता नलिइकन आफ्नो काम गर् । जहाँ जे छस्, जस्तो छस्, राम्रो गर है कान्छा ।’ भन्ने वाक्यांशले मलाई सधैं हिम्मत दिइरहन्छ । सायद त्यसैले पनि होला, राम्रो कति गरेँ थाहा छैन, तर आजसम्म जानेर नराम्रो गरेको छैन ।

...

बिहे औसत सम्पन्न भयो । तर, बिहे सकिएको आधा वर्ष बितिसक्यो त्यसयता बालाई सपनामा देखेको छैन । छाडेर गइसकेपछि बालाई सपनामै भए पनि भेट्ने सपना चाहिँ मनमा रहिरहने रैछ । सायद कुनै कठिनाइमा वा होस् सफलता र खुसीको क्षणमा बा फेरि सपनामा आउनु होला र बोलाउनु होला ‘कान्छा’ । अब चाहिँ म सपनामा पनि रिसाउनेछैन बा ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।