पठाओमा बार्गेनिङको चक्कर !

पुस १९, २०७९ |संगम ढकाल
पठाओमा बार्गेनिङको चक्कर !

‘अनलाइनमा जानै मान्दैनन् । राइड क्यान्सिल गर्न लगाएर अफलाइन राइड जाउँ भन्छन् । चाहिने नचाहिने प्रश्न सोधेर हैरान पार्छन् । फर्कँदा टिप लाग्दैन, यहाँबाट एक्स्ट्रा टिप्स दिनु भन्दै गनगन रहेछन् यार ।’

‘चोकमा कुरेर बस्ने । पठाओमा जाने हो ? भनेर सोध्ने तर अनलाइनचाहिँ चलाउन नमान्ने । पठाओमा पनि बार्गेनिङ गर्दा रहेछन् ।’

‘अफलाइन राइडमा जाउ भन्दै थियो डर लाग्यो मैले त मानिनँ । अस्ति पनि के-के न्युज आइरहेको थियो ।’

माथिका भनाइ आजभोलि पठाओ प्रयोगकर्ताले गर्ने गुनासो हुन् ।

व्यस्त सहर काठमाडौंमा राइड सेयररिङ सेवा (पठाओ, टुटल, इन ड्राइभ) लोकप्रिय छन् । नहोस् पनि किन ? एक फोनका भरमा छिनमै घरकै गेटमा बाइक लिएर ‘पिक’ गर्न आउँछन् । ट्याक्सीले भन्दा सस्तोमा छिट्टै गन्तव्यमा पुर्‍याइदिन्छन् भन्ने यात्रुलाई लाग्छ ।

यिनै राइड सेयरिङ सेवाबाट रोजगारको अभाव रहेको अवस्थामा धेरै युवाले अवसर पनि पाएका छन् । फरक क्षमता भएका केही व्यक्तिले समेत पठाओ चलाएर घर-खर्च धानेका छन् । धेरैले पठाओलाई जागिर नै बनाएका छन् । मासिक ४० हजार सहजै कमाउने राइडरहरू बताउँछन्, जुन राम्रै कमाइ हो । यस्ता अवसर देशमा आवश्यक पनि छन् ।

राइड सेयरिङ सेवा कम्पनीहरूका राम्रो पक्ष धेरै छन् । तर, बेइमान राइडरहरूले गर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । सेवाप्रदायक कम्पनीलाई कमिसन नबुझाउन बठ्याइँ र सानो पैसाको ठूलो लोभले सेवाग्राहीको मनस्थिति भड्कँदो छ । हरेक ठाउँमा घुसखोरी र कमिसन चलेजस्तै अनलाइनबाटै भाडा तय हुने पठाओमा समेत अब बार्गेनिङ र दलाली घुस्न थालेको छ ।

‘चोकमा त उभिनै नहुने’

राइडरहरू अहिले काठमाडौंका चोक, जक्सनमा बाक्लै भेटिन्छन् । प्रायः यिनीहरूमा ‘अफलाइन राइड’को होडबाजी हुन्छ । चोकमा मान्छे उभियो कि सोधिहाल्छन्- पठाओ जाने हो ?

‘जाने गन्तव्य भन्यो कोही टाढा भन्यो भने केही तर्कछन्, केही अफलाइन लान्छु भन्छन् । केहीले फर्कंदा टिप पाउँदैन एक्स्ट्रा टिप दिए जान्छुसमेत भन्छन् ।’ ठिमीमा अस्थायी बसोबास गर्दै आएका राजीव न्यौपाने भन्छन्, ‘जाँदिनँ भन्यो भने केहीले त कर पनि गर्छन् ।’

‘एयरपोर्टमा दाइलाई छाडेर फर्कँदा १० बज्यो । पाठओ चोकमा रहेछ, त्यसैमा कपन गएँ । बाटोभरि ढाढा रहेछ ५० रुपैयाँ टिप्स दिनू भनेर गनगन गर्‍यो । रेन्टुरेन्टभित्रै छिरेर माग्न थाल्यो, दिएर पठाएँ, कस्तो फटाहा रहेछ,’ कपनमा होटेल व्यवसाय गर्दै आएका आनन्द ढुंगेलले गुनासो गरे ।

‘न्युरोडबाट घर जान साथीलाई वीर अस्पतालअगाडि कुर्दै थिएँ । बाइक नै रोकेर पठाओमा जाने हो सोध्न कति धेरै राइडर आए, अनि कुनातिर लागें । आजभोलि चोकमा त उभिनै नहुने ! पठाओले जाने हो भन्दै वाक्क पार्छन् ।’ अर्की एक युवतीले भन्छिन्, ‘झट्ट हिँड्न सजिलो, तर कोही त ठीकै हुन्छन् । कोही अफलाइन जानका लागि राइड क्यान्सिल गर्न लाउँछन् ।’

चोकमा छयाप्छ्याप्ती भेटिने राइडरले भनिरहेका छन्- अफलाइन हिँड्नुस् न पैसा कम लाग्छ ।

कलेज पढ्दै गरेकी अर्की युवती राइडरले नचाहिने प्रश्न सोधेर हैरान बनाएको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘कोही त नचाहिने प्रश्न सोधेर हैरान पार्छन् । अर्डर गर्दा नम्बर उनीहरूसँग हुन्छ । कोही त फोन गर्न मिल्छ भनेर सोध्छन् ।’

पठाओ प्रयोगकर्ता सपना बोगटी भन्छिन्, ‘मैले कुपन्डोलबाट राति ८ बजे बालुवारटार जान पठाओ अडर गरेँ । अफलाइन राइडमा जाउँ भन्दैथ्यो डर लाग्यो । मैले त मानिनँ । पछि राइडरले मोबाइल चार्ज सकिन लाग्यो, डेस्टिनेसनमा पुगेर राइड कम्प्लिट गर्न भ्याइनँ, बोनस कि के घट्छ भनेर कर गर्‍यो अनि राइड क्यान्सिल गरें । अस्ति पनि के-के न्युज आइरहेको थियो, मलाई कस्तो डर लाग्यो ।’

यी गुनासो राइड सेयरिङ सेवा प्रयोग गर्ने आम सेवाग्राहीले भोग्ने समस्या हुन् । कति सेवाग्राही यौन हिंसा, लुटपाटलगायत घटनाको सिकारसमेत भएका छन् । सेवाग्राही योभन्दा ठूला दुर्घटनाको जोखिममा छन् । केही दुर्घटना बाहिर आएका छन् कोही पुग्नैपर्ने स्थान प्रहरीसमक्ष पनि पुगेका छैनन् ।

यद्यपि सबै राइडर अनुशासनहीन भने छैनन् । धेरैमा केही मात्र माथिका घटनामा सामेल छन् ।

ट्राफिक नै हैरान

काठमाडौं त्यसै पनि सवारी जामको चपेटामा छ । ‘पिक आवर’मा सवारी चाप व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे पर्छ । सुन्धारा, चाबहिल, बागबजार, त्रिपुरेश्वर, कोटेश्वरजस्ता सवारी चाप बढी हुने स्थानमा राइडरहरूले थप चुनौती दिएको ट्राफिक प्रहरीको भनाइ ।

ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार जथाभावी राइडरहरूले पार्किङ गर्दा सवारी आवागमन नै अवरुद्ध हुने भएकाले झन् समस्या बढेको छ । ‘अफलाइन राइड गर्न चोक कुरेर बस्छन् । बाटो छेकेर बस्छन् । गल्लीको मुखमा बस्छन् । पछाडि गाडीको लाइन लाग्छ । हामीलाई सवारी व्यवस्थापनमा चुनौती थपिएको छ,’ उनले भने, ‘यसरी जथाभावी रोकर यात्रु चढाउनेलाई कारबाही गर्छौं । चिट काट्ने, चाबी खोस्ने गर्छौं । राइडरले एकदमै असहज पारेका छन् ।’

यससँगै राइडरहरुले दुर्घटनाको जोखिमसमेत बढाएको ट्राफिक प्रहरीको भनाइ छ । प्रवक्ता भट्टले भने, ‘दुईपांग्रे सवारीको हेन्डलमा मोबाइल स्ट्यान्ड राख्दा दुर्घटनाको जोखिमसमेत बढेको छ । बाइक चलाउँदै मोबाइल हेर्दा दुर्घटनाको जोखिम भइहाल्छ नि । झन् दुईपांग्रे सवारीमा ।’

दुर्घटना जोखिमलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले केही समय अघि हेन्डलमा मोबाइल स्ट्यान्ड राख्न नपाउने नियमलाई कडाइ गरेको थियो । सुरुवाती दिनमा नियमको पालना भए पनि विस्तारै राइडरले नियमलाई बेवास्ता गर्न लागेका छन् ।

१३८ दुर्घटना, अफलाइन राइडरसहित चारजनाको मृत्यु

पठाओ कम्पनीमा दुर्घटनाको १३८ वटा घटना दर्ता भएको छ । जसमा चारजनाको मृत्यु भएको छ । कम्पनीका अनुसार तीन राइडर र एक सेवाग्राहीले दुर्घटनामा ज्यान गुमाएका छन् । पीडित पक्षलाई कम्पनीले बिमा रकम बापत पाँच लाख उपलब्ध गराएको छ ।

पठाओकी प्रवक्ता सुरक्षा हमालका अनुसार अहिले ११७ जनाले दुर्घटनमा बिमा पाएका छन् भने एकजनाको अफलाइन राइडको मृत्यु भएको छ । उनी भन्छिन्, ‘अफलाइन राइडमा एउटा मृत्युको केस पनि भएको छ । दुर्घटनाका केसहरु पनि छन् ।’

प्रवक्ता हमालका अनुसार २१ वटा दुर्घटनाको बिमा रकम प्रक्रियामा रहेको उनको भनाइ छ तर अफलाइन राइडको जिम्मेवार कम्पनी हुँदैन । सोही कारण एक मृत्युको केसको बिमा प्रक्रियामै गएन ।

पहिला कम्पनीले दुर्घटनमा मृत्यु भएका पाँच लाख बिमा रकम उपलब्ध गराउँदै आएको थियो । तर अहिले कम्पनीले दुर्घटनामा मृत्यु भए १० लाख र घाइते भए एक लाख रकम उपलब्ध गराउँदै आएको छ ।

आफ्नै राइडरका कारण पठाओलाई चुनौती

आफ्ना राइडरलाई सुरुवातदेखि नै अफलाइन राइड नगर्न सचेत गराउँदै आएको पठाओको दाबी छ । राइडरले सानो रकममा लोभिएर बिमा र अन्य अपराधिक घटनाको जोखिम लिएकामा पनि कम्पनी अवगत छ ।

अफलाइन राइडले सेवाग्राहीमात्र नभई राइडर स्वयं जोखिमा पर्ने प्रवक्ता हमाल बताउँछिन् । अफलाइन राइड गर्दा राइडर लुटिएको घटना पनि छन् भने दुर्घटनामा धेरै केस कम्पनीसम्म नआएको उनको भनाइ छ ।

अफलाइन राइडमा सेवाग्राही बोक्ने केही राइडरलाई कम्पनीले कारबाही पनि गरेको छ । प्रवक्ता हमाल भन्छिन्, ‘हामीले धेरै अफलाइन राइडरलाई कारबाही पनि गरेका छौं । उनीहरुको गल्तीको प्रकृति हेरेर कम्पनीले कारबाही गर्दै आएको छ ।’

राइडरले चोक कुरेर सेवाग्राहीलाई चिढ्याउने, ट्राफिक व्यावस्थापनमा जटिलता थप्ने, टिप्समा बर्गेनिङ गर्नेजस्ता सेवाग्राही प्रतिकूल व्यवहारले कम्पनीको प्रतिष्ठा नै जोखिममा छ । कम्पनीले यसबारेमा सचेत भएको र जोखिम न्यूनीकरणमा काम गरिरहेको बताए पनि चोकमा छयाप्छ्याप्ती भेटिने राइडरले भनिरहेका छन्- अफलाइन हिँड्नुस् न पैसा कम लाग्छ ।