काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय ख्यातिप्राप्त नौ जनालाई २०७९ सालको नइ पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।
नइ प्रकाशनले डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसैगरी ६ दशकअघिदेखि नेपालको पश्चिमाञ्चल क्षेत्रमा उच्च शिक्षाको थालनी र संवर्धनका लागि सक्रिय पोखराका प्रा. जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने सदस्यसचिव नरेन्द्रराज प्रसाईंले विज्ञप्तिमार्फत जनाए ।
६ दशकदेखि नारीको स्वास्थ्यसेवा, स्वास्थ्योपचारको जागरण र विकासमा सक्रिय प्रसूति विशेषज्ञ डा. सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’, खेलकुदका मार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाएबापत मोहनबहादुर शाहीलाई ‘नइ भाजप पुरस्कार’ समर्पण गर्ने निर्णय प्रकाशनले जनाएको छ ।
प्रकाशनले नेपाली कलाका फाँटमा संलग्न रही अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली संस्कृतिमा आधारित चित्रकलाको प्रतिष्ठा बढाएबापत कृष्णगोपाल रञ्जितलाई ‘नइ यउजा पुरस्कार’, त्रिमूर्ति निकेतनको स्थापनाका निम्ति विशिष्ट भूमिका निर्वाह गर्नुका साथै पत्रकारिताका माध्यमबाट सामाजिक चेतनाको निर्माण एवं नेपाली भाषा संवर्धनमा सक्रिय हरिहर विरहीलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यसैगरी नेपाली भाषासाहित्यको सिर्जना र संवर्धनमा विशिष्ट योगदान पुर्याएबापत स्याङ्जाका विश्वप्रेम अधिकारीलाई ‘नइ धनरूप पुरस्कार’, सनातन अध्यात्म दर्शन र धर्मसंस्कृतिको जागरण, संरक्षण र संवर्धनका लागि प्राज्ञिक क्षेत्रमा संलग्न कमल रिजाललाई ‘नइ चन्द्रधन पुरस्कार’ र नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रूपमा क्रियाशील श्रीओम श्रेष्ठलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यी सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेको सदस्यसचिव प्रसाईंले जनाएका छन् । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको बैठकले यसबारे निर्णय गरेको हो ।
यो पनि...