परराष्ट्रमन्त्रीलाई प्रश्न : भूकम्पप्रभावित टर्कीमा नेपालीको अवस्था के छ ? (विशेष वार्ता)

माघ २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्रीलाई प्रश्न : भूकम्पप्रभावित टर्कीमा नेपालीको अवस्था के छ ? (विशेष वार्ता)

परराष्ट्रमन्त्री विमला पौड्याल राईले टर्कीको भूकम्प प्रभावित क्षेत्रमा १३ जना कलिला नेपाली विद्यार्थी र केही घरेलु कामदारहरु रहेको जानकारी गराएकी छिन् । नेपाल सरकारले चाँडै टर्कीलाई राहत सामग्री पठाउने र सोही विमानबाट उद्धार गरेर उनीहरुलाई नेपाल ल्याइने मन्त्री राईले बताएकी छिन् ।

आफूले बुधबार टर्कीका विदेश मन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र त्यहाँ न्यानो कपडा, स्वास्थ्यकर्मी र इलेक्ट्रिक सामानहरु आवश्यक रहेकाले नेपालबाट चाँडै ती राहत सामग्री पठाइने मन्त्री राईले कान्तिपुरलाई बताइन् ।

‘त्यो ठाउँमा रगतको आवश्यकता भएको कुरा गर्नुभएको छ । न्यानो लुगाको धेरै आवश्यकता भएको कुरा गर्नुभएको छ । त्यसपछि उद्धार गर्नुपर्ने ठाउँ अँध्यारो भएकाले टर्चलाइटहरू, जेनेरेटहरू आवश्यक भएको बताउनुभएको छ । मेडिकल सप्लाई र स्वास्थ्यकर्मीको आवश्यक परेको कुरा गर्नुभएको छ’ मन्त्री राईले भनिन्, ‘हामीले हाम्रो विपत व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा के सकिन्छ, हामी पनि उद्धार सामाग्री पठाउने लाइनमा छौं ।’

टर्कीमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल सरकारले के गरिरहेको छ त ? कान्तिपुर टेलिभिजनकर्मी सुविन्द्र श्रेष्ठले परराष्ट्रमन्त्री राईसँग गरेको कुराकानीको सम्पादित अंश :

अहिले परराष्ट्र मन्त्रालयले भूकम्पपछिको टर्कीको अवस्थालाई कसरी हेरिरहेको छ ? त्यहाँ रहेका नेपालीबारे मन्त्रालयलाई के जानकारी छ ?

टर्कीको दक्षिणपूर्वी क्षेत्रमा गएको महाभूकम्पले ठूलो क्षति पुर्‍याएको छ । नेपाल सरकारले एकदमै दुःख व्यक्त गरेको छ । नेपालबाट हुन सक्ने कुनै पनि सहयोगका लागि हामी तत्पर छौं भनेर टर्कीका विदेशमन्त्रीलाई फोन सम्पर्क गरेर कुरा राखेका छौं । नेपाल सरकारको तर्फबाट यो भूकम्पको उद्धारमा जस्तोखालको सहयोग चाहिन्छ, त्यसमा हाम्रो तत्परता हामीले ‘सोलिडारिटी’का रुपमा जनाएका छौं ।

त्यहाँ रहेका नेपालीका हकमा हामी तारन्तार पाकिस्तानको इस्लामावादमा रहेको हाम्रो दूतावास र त्यहीँ रहेका हाम्रा गैरआवासीय नेपाली संघका नेपालीहरुसँग सम्पर्कमा छौं ।

त्यहाँ नेपालीको स्थिति के छ ?

अहिलेसम्म प्राप्त जानकारीअनुसार जुन ठाउँमा भूकम्प गयो, त्यो ठाउँमा एकदमै धेरै जाडो छ । जाडोका कारण धेरै पर्यटक नजाने भएकाले त्यहाँ नेपालीहरू एकदमै कम छन् । गर्मीमा धेरै पर्यटक भएकाले त्यहाँ सेवा क्षेत्रमा धेरै नेपाली काम गर्न जाने गरेको पाइन्छ ।

अहिले हामीसँग २१ जना नेपाली सम्पर्कमा आउनुभएको छ । हामीसँग २१ जनाको लिस्ट नै छ । र, त्यहाँको गैरआवासीय नेपाली संघसँग हामीले लिस्ट लिँदा त्यहाँ रहनुभएका नेपाली त्यति नै हो कि जस्तो छ । किनभने, त्यहाँ धेरै नेपाली भएको तथ्यांक छैन । अहिले इस्लामावादले ह्वाट्एप ग्रुप बनाएर सबै नेपालीको तथ्यांक अपडेट गरिरहेको छ ।

हामीसँग सम्पर्कमा आउनुभएका २१ जना मध्ये १३ जना विद्यार्थी हुनुहुन्छ । केही कलेज र केही हाईस्कुलका विद्यार्थी हुनुहुन्छ, जसलाई होस्टलमा राखिएको छ । तीन जना घरेलु कामदारका रुपमा बस्नुभएको छ । उहाँहरु पनि सुरक्षित हुनुहुन्छ । उहाँहरू सुरक्षित रोजगारदाताकै घरमा हुनुहुन्छ ।

केही नेपाली गैरकानुनी रुपमा त्यहाँ भएकाले खुलेर आउन सक्नुभएको छैन । हामीसँग उहाँहरूको पनि डाटा छ । त्यसले गर्दा अहिलेसम्म नेपाली हताहत भएको र ठूलो संकटमा परेको, शारीरिक रुपमा अशक्त भएको सूचना हामीसँग छैन ।

समस्या के छ भने जति नेपाली होस्टलमा बस्नुभएको छ, त्यसमा हाईस्कुल पढ्ने बालबालिका पनि छन्, उनीहरू मानसिकरुपमा विक्षिप्त रहेकाले अवस्थामा चाँडोभन्दा चाँडो घर फर्कन पाए हुन्थ्यो, सुरक्षित स्थानमा जान पाए हुन्थ्यो भन्नेमा छन् । त्यो भएर त्यहाँ भएका नेपाली विद्यार्थी चाहिँ हामीलाई इस्तानवुल अथवा अंकारा कतै लगिदिए हुन्थ्यो भन्ने अपेक्षामा बस्नुभएको छ ।

राहात उद्धारको विषयमा हेर्दा जाडो धेरै छ । उद्धार त भइरहेको छ तर त्यहाँ न्यानो कपडाको आवश्यक रहेको कुरा चाहिँ उहाँहरुले भन्नु भएको छ ।

तपाईंले पाकिस्तानस्थित राजदूतावाससँग कुरा गर्नुभयो, जसले टर्कीलाई पनि हेर्छ । टर्कीका विदेशमन्त्रीसँग पनि फोन सम्पर्क गर्नुभयो । दूतावासले नेपालीहरूलाई कसरी सहयोग गरिरहेको छ ?

त्यहाँ ‘फिल्ड’ मै परिचालित भएर सहयोग गरिहेको चाहिँ टर्कीको गैरआवासीय नेपाली संघले हो । मैले उहाँहरूसँग पनि कुराकानी गरेकी छु । उहाँहरुले नेपालीलाई मात्र होइन, सबैलाई सहयोग गर्नुभएको छ । त्यहाँको अवस्था हेर्दा उद्धारमा खाँचो भएका मान्छेलाई उद्धार गर्नका लागि त्यहाँको सरकारले चाहिँ एकदमै थोरै पैसामा प्लेनबाट उद्धार गरिरहेको छ । तर प्लेन एकदमै प्याक छ । त्यसले गर्दा पर्खनुपर्ने हुन्छ । गाडीबाट सकेसम्म कार लिएर नेपालीहरूलाई पिकअप गर्दै सुरक्षित स्थानमा पुर्‍याउने सोचमा रहेको त्यहाँको गैरआवासीय नेपाली संघले मलाई भनिरहेको छ ।

त्यो ठाउँमा रगतको आवश्यकता भएको कुरा गर्नुभएको छ । न्यानो लुगाको धेरै आवश्यकता भएको कुरा गर्नुभएको छ । त्यसपछि उद्धार गर्नुपर्ने ठाउँ अँध्यारो भएकाले टर्चलाइटहरू, जेनेरेटहरू आवश्यक भएको बताउनुभएको छ । टर्कीको सरकारी तवरबाट मेडिकल सप्लाई र स्वास्थ्यकर्मीको आवश्यक परेको भएको कुरा गर्नुभएको छ ।

हामीले हाम्रो विपत व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा के सकिन्छ, हामी पनि उद्धार सामाग्री पठाउने लाइनमा छौं । त्यसको लागि आज अथवा भोलिसम्म निर्णय हुन्छ के पठाउने भनेर ।

इस्लामावादको दूतावासले पनि त्यहाँको गैरआवासीय नेपाली संघसँग एकदमै नजिक भएर काम गरिरहेको छ । उहाँहरूले पनि सञ्चार समूह बनाएर त्यहाँका नेपालीसँग प्रत्यक्ष सम्वादमा हुनुहुन्छ ।

सुरक्षित स्थानमा जाने अथवा स्वदेश फर्कन चाहने नेपालीलाई तपाईंहरूको पहल के छ ?

अहिले हामी के गृहकार्यमा छौं भने यहाँबाट हामी केही न केही सहयोग लिएर जान्छौं । हाम्रो सहयोग जान्छ र सकेसम्म त्यहाँबाट सबैजना फर्कनुहुन्न । केही नेपाली इस्तानाबुल अथवा सुरक्षित स्थानमा जान चाहनुहुन्छ । त्यहाँ पुर्‍याउन अप्ठ्यारो छैन । अहिले तुरुन्त गाह्रो भए पनिपछि प्लेनबाटै जान पनि सक्नुहुन्छ । गैरअवासीय संघले पनि गाडीमै भए पनि उद्धार गर्छु भनेको छ । यो समस्याको विषय हैन । जो नेपाल आउन चाहनुहुन्छ, उहाँहरूलाई हामीले सामान पठाएको टोलीसँगै उद्धार गर्नका लागि तयारी गरिरहेका छौं ।

भूकम्पको अति प्रभावित क्षेत्रमा गैरकानुनीरुपमा धेरै नेपाली हुनुहुन्छ । त्यहाँ दूतावास नभएका अवस्थामा उनीहरूलाई सहयोग गर्न कत्तिको असहज भइरहेको छ ?

त्यो त केही न केही फरक भइहाल्छ नै । सरकारको प्रत्यक्ष उपस्थिति हुनु र नहुनुमा अन्तर चाहिँ भइहाल्छ । सबैभन्दा ठूलो चाहिँ सञ्चारको नै समस्या हुन्छ । किनभने, प्रत्यक्ष हाम्रो उपस्थिति नभएपछि त्यहाँ कहाँ नेपाली छन्, कसरी बसिरहेका छन्, कहाँ उद्धार गर्नुपर्ने हो, सूचना र अर्को पहुँचकै पनि कुरा भयो । यस्तो समस्या त भइहाल्छ । तर, हामीले एउटा कुरामा गर्व गर्नुपर्छ । त्यहाँ टर्कीमा गैरआवासीय नेपाली संघ जुन छ, उहाँहरू अहिले इस्तानबुलमा हुनुहुन्छ । उहाँहरूले देखाउनुभएको तदारुकता र सहयोगले चाहिँ हामीलाई दूतावासकै काम भएको छ । उहाँहरूले नेपालीहरूबीच सूचनाका पनि सञ्जाल बनाउनुभएको छ । विद्यार्थीहरूमा पनि साना साना सूचनाको सञ्जाल बनिरहेका रहेछन् । त्यसले पनि धेरै सहयोग गरेको छ ।

यहाँबाट प्लेन प्रत्यक्ष इस्तानाबुल मात्र जान्छ, भूकम्प प्रभावित क्षेत्रमा जाँदैन । हामीले नेपाल ल्याउनुपर्ने अवस्था रहेकालाई कुनै तरिकाले अंकारा र इस्तानाबुल ल्यायौं भने त्यहाँबाट ल्याउन सक्छौं ।

गैरकानुनीरुपमा रहेका नेपालीलाई कसरी सम्बोधन हुन्छ ?

हामी ओपन छौं । तीनजनाले त हामीलाई नाम टिपाइसक्नुभएको छ । तर, उहाँहरूले हामीसँग सहयोग माग्नुभएको छैन । उहाँहरूले हामी सुरक्षित छौं, हामीलाई सहयोगको आवश्यकता छैन, हामी रोजगारदातासँगै बसेका छौं भन्नुभएको छ । उहाँहरू प्रायः घरेलु कामदारका रुपमा हुनुहुन्छ । तर, अप्ठ्यारो पर्‍यो भने कुन कानुनीरुपमा बस्नुभएको, कुन गैरकानुनीरुपमा बस्नुभएको प्रमाणपत्रलाई सहजीकरण गरेर र त्यहाँको सरकारसँग कुरा गरेर हामीले उद्धार गर्नुपर्छ । त्यो हामी गर्छौं ।

हामीसँग २०१५ को भूकम्पको सिकाइ पनि छ । मानवीय र उद्धार कार्यका लागि गर्ने सहयोग गर्ने एउटा छ, प्रभावकारीरूपमा त्यहाँका जनता र सरकारलाई कसरी सहयोग गर्न सकिएला ?

हामीले विदेशमन्त्रीसँग सोधेका छौं । सहयोग गर्नुपर्छ, हामी तयार छौं भनेका छौं । विभिन्न देशका प्रनितिधिले उद्धार टोली पठाइसक्नुभएको छ । हामीसँग प्राविधिकरुपमा उद्धार टोली पठाउने भन्दा पनि उहाँहरूको मागअनुसार पठाउने हो । उहाँहरूको माग मेडिकल सप्लाईको कुरामा आएको छ र स्वास्थ्यकर्मीको कुरा आएको छ । न्यानो लुगाको कुरा भएको छ । त्यहाँको गैरआवासीय नेपाली संघले पनि त्यही कुराको खाँचो रहेको बताएको छ । यिनै कुरा हामी पठाउँछौं ।

यसका लागि मुख्यसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका सचिवसँग छलफल भइरहेको छ । हामी निजी क्षेत्र, गैरसरकारी क्षेत्र र सरकारी क्षेत्रको सहयोग लिएर हामी एकीकृतरुपमा मानवीय उद्धारका लागि समाग्री खरिद गरेर राष्ट्रिय विपद प्राधिकरणको व्यवस्थापनमा यहाँबाट राहत सामाग्री पठाउँछौं ।

कहिलेसम्म पठाउने कुरा छ ?

अहिले नै मैले भन्न सक्ने अवस्थाचाहिँ छैन । के र कति पठाउने भन्ने कुरा भोलिसम्म एक किसिमको निर्णय भइसक्छ । त्यसपछि हामी पठाउँछौं । यहाँबाट दुईवटा प्लेन टर्की गइरहेका छन् । टर्किस र जजिराको प्लेन गइरहेका छन् । ती एअरलाइन्ससँग समन्वय गरेर हामीले सामग्री पठाउनुपर्ने हुन्छ । यसका लागि केही समय लाग्न सक्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.