
काठमाडौं । सेवा सुविधा कटौती भएको विरोधमा कर्मचारीहरु आन्दोलित भएपछि धितोपत्र बोर्डका सबै काम ३७ दिनदेखि ठप्प भएको छ । खाइपाई आएको सेवा सुविधा कटौतीको विरोधमा बोर्डका कर्मचारी आन्दोलित भएका हुन् ।
अर्थ मन्त्रालयको स्वीकृति नलिई दुई वटा कोष सञ्चालन गरि लाभ लिएको भन्दै अख्तियारले पत्र पठाएपछि अर्थ मन्त्रालयले गत असोज ७ गते कोष सञ्चालन कार्यविधि खारेज गर्न निर्देशन दिएको थियो । मन्त्रालयले नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याणकोष कार्यविधि २०७१ र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष कार्यविधि २०७५ खारेज गर्न निर्देशन दिएको हो । यस्तो निर्देशनका कारण अवकाशपछि उपदान बापतको ६० महिनाको तलब र वर्सेनि तलबबाहेक आउने अन्य रकम रोकिएको कर्मचारीको भनाइ छ ।
कर्मचारीहरु आन्दोलित भएपछि सेयर निष्काशन, सेयरबजारको नियमन, लाइसेन्स प्रदान तथा नवीकरण ठप्प भएका छन् । बोर्डका कर्मचारीहरुले अर्थ मन्त्रालयको निर्देशन तत्काल फिर्ता लिनुपर्ने वा बोर्ड सञ्चालक समिति नै निर्देशनविरुद्ध अदालत जानुपर्ने माग राखेका छन् । तर, मन्त्रालय भने यस्तो पत्र कुनै पनि हालतमा फिर्ता नहुने अडानमा छ । अर्थ मन्त्रालयका अधिकारीहरु बोर्ड काम गर्नका लागि स्वायत्त भए पनि आफूखुसी रकम सञ्चालनका लागि स्वायत्त नभएको र स्वीकृती नगराई कोष सञ्चालन हुनु गलत रहेको बताउँछन् ।