
काठमाडाैं । बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदूषण घटाउन र पर्यटकलाई स्तरीय यातायात सुविधा दिन भन्दै २०७७ साल मंसिरमा विद्युतीय बस ल्याइयो । तर, सञ्चालन कार्यविधि नबन्दा बस त्यत्तिकै थन्किए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा थन्किएका बस यही चैत २० गते गुडाइयो ।
तर विडम्बना सञ्चालनको दोस्रो दिन नै बस फेरि थन्क्याइएका छन् । बुद्धजन्मस्थल लुम्बिनीमा ५ वर्षअघिदेखि थन्किएका विद्युतीय बस गुडाउने प्रयास असफल भएको छ । थन्किएका पाँचमध्ये दुइटा निकालेर यही चैत २० गते एउटा लुम्बिनीबाट भैरहवा हुँदै बेलहिया आउजाउ गराइएको थियो भने अर्को बस लुम्बिनीबाट तौलिहवा, तिलौराकोट हुँदै कुदानसम्म गुडेको थियो ।
भाडा तय नभएको भन्दै यात्रुलाई निशुल्क यात्रा गराएको अर्को दिनदेखि बस गुडेनन् । बरु लुम्बिनी विकास कोषको परिसरबाट सारेर भैरहवा विमानस्थलमा थन्काइए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्देशन र संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमको परिपत्रका आधारमा गुडाइएका विद्युतीय बस किन विमानस्थलमा पुर्याइए ?
काठमाडौंमा रहेका लुम्बिनी विकास कोषका सदस्यसचिवलगायतका पदाधिकारी यो विषयमा बोल्न मान्दैनन् । विमानस्थल प्रशासनसँग पनि स्पष्ट जवाफ नभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका महाशाखा प्रमुख मुरारीप्रसाद पौडेलले बताउनुभयो ।
लुम्बिनीमा प्रदूषण बढ्दै गएको गुनासो बढेपछि सरकारले विद्युतीय सवारी सञ्चालन गर्ने योजना बनाएको थियो । त्यसअनुसार एसियाली विकास बैंकको सहयोगमा १४ वटा विद्युतीय जीप र ५ वटा बस लुम्बिनी ल्याइएका हुन् । १३ करोड रुपैयाँ लागतका बस तथा ट्याक्सी ल्याउन सरकारले साढे ३ करोड भन्सार शुल्क ब्यहोरेको थियो ।
‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत पर्यटक बोक्न ल्याइएका विदुतीय जीपमा लुम्बिनी विकास कोषका कर्मचारी चढ्छन् । पाँचमध्ये दुइटा बस चलाएको कोषले बिग्रिएका तीनवटा बस मर्मतपछि एक साताभित्र सञ्चालनमा ल्याउने बताएको थियो । ५ वर्षदेखि अलपत्र बस एक दिन चलाएर अर्कोदिन थन्काउदै कोषका पदाधिकारी काठमाडौं लागेपछि बस चलेको देखेर खुसी भएका स्थानीयले उदेक मानेका छन् ।
२०७७ साल मंसिरमा ल्याइएका विद्युतीय बस खुला ठाउँमा छोडिँदा केहीका सिसा फुटेका त केहीका झ्यालढोका टुटेका छन् । बस सञ्चालन अनिश्चित बनेपछि पछिल्लो समय विद्युतीय बस काठमाडौं पठाउने तयारी थियो । यस्तोमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्देशनमा सञ्चालन गरिएका बस लुम्बिनी विकास कोषले किन थन्कायो ? गम्भीर प्रश्न उब्जिएको छ।