कोशी पर्यटन वर्ष : घोषणामै सीमित

चैत्र २६, २०८२ |सुशीला पाठक
कोशी पर्यटन वर्ष : घोषणामै सीमित

मोरङ । प्रदेश सरकारले २०८२ लाई कोशी पर्यटन वर्ष घोषणा गर्दा लक्ष्य महत्वाकांक्षी थियो । पर्यटनमार्फत आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय - अन्तर्राष्ट्रिय पर्यटन नक्सामा बलियो रूपमा स्थापित गर्नेजस्ता विषय समेटिदा त्यहाँका पर्यटन व्यवसायीमा उत्साही थिए । 

‘रमणीय कोशी’ भन्ने नारासहित सुरू अभियानका लागि प्रदेश सरकारले ८२ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राख्दै चालु आर्थिक वर्षका लागि १० करोड रुपैयाँ बजेट छुट्यायो । तर आर्थिक वर्षको नौ महिना बितिसक्दा पर्यटन वर्षको प्रभाव भने घोषणाभन्दा अघि बढ्नै सकेको छैन ।

प्रदेश सरकारले बजेटमा ‘कोशीको गौरव, हिमालको सान: पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा समेट्दै पूर्वाधार निर्माण, गन्तव्य स्तरोन्नति, प्रचारप्रसार र पर्यटक आकर्षणका कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको थियो । 

यिनै महत्वकांक्षी लक्ष्यसहित गत वर्ष कोशी प्रदेश सरकारले कोशी भ्रमण वर्ष घोषण गरेको थियो । तर सूचीमा राखिएका ८२ गन्तव्यमध्ये कतिमा काम सुरु भयो, कतिमा बजेट पुग्यो र कतिमा ठोस परिवर्तन देखियो भन्ने स्पष्ट विवरण सार्वजनिक भएको छैन ।

कचनकवलदेखि सगरमाथासम्म फैलिएको पर्यटन सम्भावना बोकेको प्रदेशले केही प्रमुख गन्तव्यलाई प्राथमिकतामा राखे पनि धेरै ठाउँमा आधारभूत तयारीमै अलमल देखिएको छ । बराहक्षेत्रलगायतका सुनसरीका धार्मिक गन्तव्य, हिले, तीनजुरे मिल्केलगायतका धनकुटा - तेह्रथुमका पहाडी गन्तव्य, झापा मोरङका सीमावर्ती पर्यटकीय क्षेत्र तथा कञ्चनजंघा लगायतका हिमाली क्षेत्रका पदमार्गमा पूर्वाधार विस्तारको योजना कागजमा समेत बन्न सकेन । 

धेरै पर्यटकीय गन्तव्यमा सडक, संकेत बोर्ड, शौचालय, सूचना केन्द्र, सरसफाइजस्ता आधारभूत सुविधा अझै अधुरै रहेको होटल एसोसिएसन नेपाल, कोशी प्रदेशका  अध्यक्ष, राजन श्रेष्ठ बताउनुहुन्छ ।

पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्ने बताएको थियो । तर धेरै स्थानीय तहलाई आफ्नो क्षेत्रमा के कार्यक्रम सञ्चालन गर्ने, कुन गन्तव्यलाई प्राथमिकता दिने र प्रदेशसँग कसरी समन्वय गर्ने भन्ने स्पष्ट कार्ययोजना नपुगेको गुनासो छ । स्थानीय तह र प्रदेशबीच समन्वय कमजोर हुँदा सूचीमा परेका धेरै गन्तव्य कागजमै सीमित भएको सरोकारवालाहरू बताउँछन्।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि त्यसअनुसारको अन्तर्राष्ट्रिय प्रचार गर्ने सकेन । छिमेकी देशलक्षित प्रचार, डिजिटल क्याम्पेन, अन्तर्राष्ट्रिय ट्राभल बजारसँग सहकार्य, एयर कनेक्टिभिटी विस्तार वा निजी क्षेत्रसँग संयुक्त पर्यटन प्याकेज निर्माणजस्ता काम स्पष्ट रूपमा देखिएका छैनन् । 

पर्यटन व्यवसायीहरूका अनुसार अहिले पनि अभियानको जानकारी प्रदेशभित्रै सीमित रहेको झापाका पर्यटन व्यवसायी ऋषिराज तिम्सिना बताउनुहुन्छ ।

नेपालकै होचो भनिएको भूभागदेखि विश्वका अग्ला हिमालसम्मको विविधता बोकेको कोशी प्रदेशमा पर्यटन सम्भावना विशाल भए पनि त्यसलाई योजनाबद्ध रूपमा बजारमा लैजान प्रदेश सरकारले सक्दै सकेन । 

अघिल्ला वर्षको तुलनामा अहिले कति पर्यटक थपिए, कुन देशबाट कति पर्यटक आए र लक्ष्यअनुसार प्रगति कति भयो भन्ने अद्यावधिक तथ्यांकसमेत सार्वजनिक गरिएको छैन । 

सरकारले आर्थिक वर्षको सुरुवातमा जेन्जी आन्दोलनका कारण काम प्रभावित भएको तर्क गर्दै पछिल्ला महिनामा तयारी तीव्र बनाइएको दाबी गरेको छ । 

तर नौ महिना बितिसक्दा पनि कार्यविधि ढिलो हुनु, बजेट खर्चको प्रत्यक्ष परिणाम नदेखिनु, जिल्लास्तरमा कार्यक्रम नपुग्नुले सरकारी दाबीलाई पत्याउने आधार छैन ।

घोषणा ठूलो, लक्ष्य महत्वाकांक्षी, तर पर्यटन वर्ष सम्झाउने गरी प्रदेशले देखाउनसक्ने उपलब्धि झण्डै शून्य । यसले कोशी पर्यटन वर्ष औपचारिक घोषणामै सीमित भएको छ ।

 


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।