विदेशको सीप र कमाइले झापामा खुले रोजगारीका ढोका

श्रावण २४, २०८३ |रमा दाहाल
विदेशको सीप र कमाइले झापामा खुले रोजगारीका ढोका

झापा । नेपालमा रेमिट्यान्सलाई अर्थतन्त्रको मेरुदण्ड मान्ने गरिन्छ । तर, त्यो रेमिट्यान्सभन्दा पनि दिगो योगदान त्यतिबेला देखिन्छ, जब विदेशबाट फर्किएका नेपालीले आफ्नै देशमा उद्यम सुरु गर्छन् । 

झापाका केही यस्ता उद्यमीले विदेशमा आर्जित कमाइ नेपालमा लगानी गरेर दर्जनौं मानिसलाई रोजगारी दिएका छन् । 

उनीहरूका संघर्ष, सफलता र प्रेरणाको कथा समेटेर तयार पारिएकाे याे रिपोर्ट ।

झापाको विर्तामोडमा एक वर्षअघि खुलेको चिकेन हबमा २५ जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । मेचीनगर- १३ चारआली स्थायी घर भएका ६३ वर्षीय युवराज प्याकुरेलले बहराइनबाट फर्केर यो व्यवसाय सुरु गर्नुभएको हो । यससँगै उहाँले पोल्ट्रीफार्म पनि सञ्चालन गर्नुभएको छ जहाँ थप पाँच जना युवाले काम पाएका छन् । 

विदेशको सीप र कमाइलाई आफ्नो देशमा लगानी गर्न पाउँदा निकै सन्तुष्ट पनि हुनुहुन्छ । विर्तामोडमा टीकाराम चौलागाईंले पनि चार वर्ष मलेसियामा कमाएको रकमले गाई फार्म खोल्नुभएको छ । अहिले उहाँको फार्ममा नौवटा गाई र केही भैंसी छन् । यी गाई भैंसीबाहेक उहाँ खेती किसानीमा पनि उत्तिकै रमाउनुभएको छ ।

कनकाईका केशर खड्काको कथा अलि फरक छ । वैदेशिक रोजगारीका लागि २० वर्षअघि दुबई पुगेका खड्का त्यहाँ भनेजस्तो काम नपाएपछि एक वर्षमै स्वदेश फर्कनुभयो । गाउँ फर्केर उहाँले सुरु गरेको कृषियन्त्र कारखानामा करिब आधा दर्जन युवाले रोजगारी पाएका छन् । 

यो कारखानामा तयार भएका कृषियन्त्रले झापासहित देशका विभिन्न स्थानका किसानले प्रत्यक्ष लाभ लिन पाएका छन् । विदेशी भूमिमा आर्जन गरेको सीप र लगानीलाई स्वदेशमा लगानी गर्नेहरुमध्ये अधिकांशको बुझाइ समान छ ।

विदेशमा आर्जित सीप र पैसाबाट नेपालमा उद्यम सुरु गरेकाहरुले सरकारले लगानीको वातावरण बनाए देशमै केही गर्न सकिने बताउँछन् । रेमिट्यान्सबाट मात्र देश चलाउने भन्दा सरकारले नेपालमा लगानी गर्न चाहनेहरुलाई सहज वातावरण मात्र बनाइदिने हो भने नेपालमै रोजगारीका नयाँ नयाँ ढोका खुल्न सहज हुने थियो ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।