बजारमा महंगीको मार : चामलदेखि तेलसम्मको मूल्यवृद्धिले उपभोक्ता हैरान

श्रावण २३, २०८३ |नारायण किलम्बू
बजारमा महंगीको मार : चामलदेखि तेलसम्मको मूल्यवृद्धिले उपभोक्ता हैरान

काठमाडौं । पछिल्लो समय बजारमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको मूल्य ह्वात्तै बढेको छ । 

गत असारको तुलनामा साउनमै चामलमा प्रतिबोरा दुई सय रुपैयाँ बढेको छ भने दाल, चिनी, चामल, पीठो, तेललगायतका खाद्यबस्तुहरुमा बढाइएको मूल्यवृद्धिले आम उपभोक्ताको दैनिकी नै प्रभावित भएको छ । 

राष्ट्र बैंकको तथ्यांकले पनि यो वर्ष ५ दशमलब दुई-दुई प्रतिशतले मूल्यवृद्धि भएको देखाउँछ । किन बढिरहेको छ महंगी ? उपभोक्ता के भन्छन् ?

चामल तेल दाल चामल गेडागुडी मैदालगायतका अत्यावश्यक खाद्यबस्तु महंगिदा उपभोक्ताको भान्सा नै प्रभावित भएको छ । असारको तुलनामा साउनमा मात्रै चामलमा दुई सय रुपैयाँ बढेको छ । खुद्रा व्यापार संघका अनुसार खाने तेलमा २०, चिनीमा १० र दाल तथा गेडागुडीमा प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ । 

पाँच जनाको परिवारका लागि असारमा १० हजार रुपैयाँसम्म खर्च भएकोमा साउनमा १५ हजार रुपैयाँ छुट्याउँदा पनि नपुग्ने अवस्था आएको र बिहान–बेलुका छाक टार्न नै गाहो हुँदै गएको उपभोक्ताहरू बताउँछन् । सबैभन्दा बढी दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई मर्का परेको छ ।

किन महंगियो त दैनिक उपभोग्य वस्तुहरुको मूल्य ? व्यापारीहरु भने अझै पनि इरान अमेरिका युद्धबाट सिर्जित इन्धन ढुवानी समस्यालाई दोष दिन्छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि महंगी ह्वात्तै बढेको देखाउँछ । 

२०८२ मंसिरदेखि उकालो लाग्न थालेको महंगी गत जेठ महिनामा पाँच दशमलब दुई-दुई प्रतिशतले बढेको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा यस्तो महंगी दुई दशमलब सात-दुई प्रतिशत थियो । 

२०८२-८३ को ११ महिनामा घिउ तथा तेलमा सबैभन्दा बढी १५ दशमलब एक-दुई प्रतिशतले वृद्धि भएको थियो भने माछा तथा मासुको पाँच दशमलब दुई-छ प्रतिशत र तरकारीको चार दशमलब एक-चार प्रतिशत वृद्धि भएको तथ्यांक छ । 

उपभोक्ता अधिकारकर्मीहरु सरकारी अनुगमन प्रणाली फितलो हुँदा उपभोक्ताले महंगो मूल्य तिर्न बाध्य हुनुपरेको बताउँछन् । त्यसो त संघीय संसद्‍मा समेत सांसदहरुले आकाशिएको महंगी नियन्त्रणबारे सरकारलाई प्रश्न गर्दै आएका छन् । तर, बजार विनालगाम उकालो लागेको लाग्यै छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।