
सिन्धुपाल्चोक । चीनसँगको तातोपानी नाका जोड्ने सडक भासिएपछि तीन सातायता तातोपानी नाका ठप्प बनेको छ ।
इको क्षेत्रमा सडक भसिनु, डाक्लाङको पहिरो र लिपिङमा सोमबार राति खसेको पहिरोले सडक अवरुद्ध हुँदा नाकामा व्यापारिक कारोबार नभएको तीन साता बितेको छ । पहिरोका कारण चीनबाट ल्याएको व्यवसायीको सामान र मानव बस्ती पनि जोखिममा परेको छ ।
गत असार २७ गतेदेखि बाह्रबिसे तातोपानी सडक खण्डको २६ किलोमिटर सडकको विभिन्न स्थानमा गएको पहिरोका कारण न गाडी सञ्चालन हुन सकेको छ, न त यात्रुले सहज रूपमा पैदल हिँड्न नै पाएका छन् । सडक अवरुद्ध हुँदा दशैं तिहार पर्व लक्षित सामान, स्याउ, लसुन जस्ता फलफुल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे, ल्हासा र न्यालमलगायतका सहरमा करिब ५ सय कन्टेनर र नेपाल पटी कोदारीमाथि ४६ कन्टेनरमा करिब २० अर्ब बढी रुपैयाँको सामान रोकिएका छन् ।
लामो समयसम्म सडक खुल्न नसकेकाले व्यवसायीको लगानी थप जोखिममा पर्ने भएको छ भने भोटेकोशीको लार्चामा रहेको भन्सार कार्यालयको माथिल्लो भागको पहाडबाट लगातार झरेको ठूला ढुंगासहितको सुक्खा पहिरोले तातोपानी भन्सार यार्ड, गोदाम, भन्सार कार्यालय भवन, आवास क्षेत्र र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) मा क्षति पुगेको छ ।
यसरी जताजतैको जोखिमका कारण बर्सेनि २५ देखि ३० अर्ब राजस्व संकलन हुने तातोपानी नाकाबाट आयात पूर्णरूपमा ठप्प हुँदा नेपाल मात्रै होइन, चीनतर्फका गोदाम र सडकमा रोकिएका मालबस्तु पनि नेपाल भित्रिन नक्दा व्यवसायी चिन्तामा छन् । डाक्लाङमाथिको पन्थली बस्तीका ४२ इको क्षेत्रमा गएको पहिरोले ६५ देखि ७० घरधुरी जोखिममा परेका छन् ।
यस क्षेत्रमा सडक डिभिजन कार्यालय, चरिकोटमार्फत सडक मर्मतका लागि गत आर्थिक वर्षमै टेन्डर आह्वान गरी कामसमेत सुरु गरिएको थियो। तर, सरकारले उक्त सडक चीन सरकारले निर्माण गर्ने भन्दै गत वैशाखमा नेपाली ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो।
४८ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त काम रद्द गरेबापत सरकारले ठेकेदार कम्पनीलाई ५४ लाख रुपैयाँ भुक्तानीसमेत गरिसकेको छ। अब वर्षायाम सकिएलगत्तै चिनियाँ निर्माण कम्पनी तातोपानी आएर पहिरो नियन्त्रण तथा सडक मर्मतको काम सुरु गर्ने सरकारी तयारी छ ।
त्यसअघि विज्ञ टोली तातोपानी पठाएर पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययन गराउने तयारीसमेत सरकारले गरेको छ। तातोपानी भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि २५ अर्ब २५ करोड राजस्व संकलनको लक्ष्य राखेको नाका तीन सातादेखि सुनसान छ ।
साउनमा मात्रै करिब १ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । तर, सडक बन्द भएपछि लक्ष्य नै प्रभावित भएको छ ।